युवापुस्ताका दर्शकहरुका लोकप्रिय नायक सलोन बस्नेत २३ बर्ष पूरा भएर २४ बर्षमा लागेका छन् । जन्म मिति चैत १० गते भएपनि नायक सलोन आफ्नो जन्मदिन तिथीमा मनाउँदै आएका छन् । प्रत्येक बर्ष सलोनको जन्मदिनमा पिता तथा निर्देशक शोभित बस्नेतले केक अर्डर गर्ने गरेका छन् । बालकलाकार हुँदै नेपाली चलचित्रमा प्रवेश गरेका सलोन अहिलेका सर्वाधिक व्यस्त र चर्चित अभिनेताको रुपमा चिनिन्छन् । हालसम्म ४० बढी चलचित्रमा काम गरिसकेका सलोनले लिड रोलमा भने आधा दर्जन सिनेमा काम गरेका छन् । ‘आभाष’, ‘गाजलु’, ‘लभ सब’, ‘आधा पेज’, ‘होस्टेल’, ‘एउटा साथी’ लगायतका चलचित्रहरुमा सलोनले मुख्य भूमिका निर्वाहा गरेका छन् । सलोनलाई चलचित्र होष्टेलले भने राम्रै चर्चा दिलाएको थियो । ‘होस्टेल’ पछि नै हो नेपाली सिनेवृतमा सलोनको माग र चर्चा हुन थालेको ।
केही दिन अगाडी मात्र ‘मेला’ र ‘लम्फू’ को छायाँकन सकाएका सलोन चाँडै आफ्नै पिताको निर्माण र निर्देशनमा बन्न लागेको चलचित्र ‘बाबु कान्छा’ मा काम गर्दैछन् । यो चलचित्रको एक गीतमा सलोन आफैले आफ्नो स्वर पनि दिएका छन् । सलोन अभिनित अर्को नयाँ चलचित्र ‘राधे’ यही बैशाख १ गते रिलिज हुँदैछ । भुवन केसीको चलचित्र ‘नेपालीबाबु’ मा बालकलाकारको भूमिका निर्वाह गर्दै अभिनय क्षेत्रमा आएका सलोन बस्नेत चलचित्र ‘लभ सब’ की नायिका करिश्मा श्रेष्ठसँग प्रेममा रहेको पनि खुबै हल्ला चलेको थियो । तर, जब ‘लभ सब’ रिलिज भयो तबदेखी उनीहरुको लभ सबको हल्ला पनि त्यसै ओइलियो । अहिले सलोन आफ्नो करिअरलाई लिएर चिन्तित छन् ।
सलोनलाई ‘सिनेखबर डटकम’ को तर्फबाट पनि जन्मदिनको हार्दिक शुभकामना ।