
काठमाडौं । चलचित्र विकास बोर्डले बोर्डअन्तर्गतको आदिवासी जनजाति तथा मातृभाषी चलचित्र प्रवर्द्धन समितिको सिफारिसमा फिल्मसँग सम्बन्धित विभिन्न जातीय संघ–संस्थाहरूसँग सम्झौता गरेको छ। समितिको सिफारिसका आधारमा मातृभाषी तथा आदिवासी जनजाति फिल्मको संरक्षण, संवर्द्धन र प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विविध तालिम, कार्यशाला तथा महोत्सव सञ्चालनका लागि ४१ लाख ९५ हजार बजेट स्वीकृत गरिएको बोर्डले जनाएको छ।
सम्झौताअन्तर्गत निर्देशन तालिम, सिनेमाटोग्राफी प्रशिक्षण, कथा लेखन तथा निर्देशन कार्यशाला, अभिनय तथा छायांकन तालिम, सांस्कृतिक संरक्षणसम्बन्धी प्रशिक्षण तथा आदिवासी जनजाति चलचित्र महोत्सव जस्ता कार्यक्रम सञ्चालन गरिनेछन् । यी कार्यक्रमहरू देशका विभिन्न जातीय समुदायमा सक्रिय चलचित्रकर्मीहरूलाई लक्षित गरी सञ्चालन गरिने बोर्डले स्पष्ट पारेको छ।
बोर्ड अध्यक्ष दिनेश डिसीले यस निर्णयलाई समावेशी फिल्म विकासतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरे । ‘नेपाल बहुभाषिक र बहुसांस्कृतिक देश हो । हाम्रो फिल्म क्षेत्रले पनि त्यही विविधतालाई आत्मसात् गर्नुपर्छ । आदिवासी जनजाति तथा मातृभाषी फिल्म प्रवर्द्धन गर्नु केवल सांस्कृतिक दायित्व मात्र होइन, यो हाम्रो राष्ट्रिय पहिचानको संरक्षण हो। बोर्डले सधैँ समावेशी र सशक्त चलचित्र उद्योग निर्माणका लागि प्रतिबद्ध भएर काम गरिरहेको छ’, उनले भने ।
फिल्म क्षेत्रमा क्रियाशील विभिन्न जातीय संस्थाहरूले बोर्डको यस निर्णयलाई सकारात्मक रूपमा लिँदै मातृभाषी फिल्म निर्माणलाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेका छन्।







