
काठमाडौं । फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मकी शीर्ष नायिका रोशनी कार्कीलाई एकल फिचर्ड गरी शुक्रबार पोस्टर सार्वजनिक गरेको हो ।
रोशनी एकल फिचर्ड फस्ट लुक्स पोस्टरले दर्शकमा फिल्मप्रति कौतुहलता सिर्जना गरेकाले दोस्रो सार्वजनिक गरिएको फिल्मका निर्देशक तथा लेखक रोशन मिराजले बताए ।
दोस्रो पोस्टरमा समस्यामा जेलिएकी रोशनीलाई आत्माविश्वासी, सहनशील र शान्त देखाइएको छ । माथिल्लो शरीरमा कपडा नलगाएकी उनी झ्यालबाट कोठाभित्र छिरेको प्रकाशमा छिन् । पीडापछिको शान्त मुद्रामा उनलाई देख्न सकिन्छ । यो पोस्टरले पनि उनी यौनकर्मीको चरित्रमा रहेको संकेत गर्छ ।
पोस्टरबारे निर्देशक मिराज भन्छन्, ‘पहिलो पोस्टरले असहायता र रहस्यलाई केन्द्रमा राखेको थियो । नयाँ पोस्टरले शक्ति, आत्मविश्वास, सहनशीलता र परिवर्तनको संकेत दिन्छ। यस पोस्टरमा शीर्षक लेख्न रातो रङ प्रयोग भएको छ । पोस्टरमा नाटकीय सिनेम्याटिक प्रकाश देख्न सकिन्छ । यसले यो केवल डरको कथा मात्र होइन, जागरण र आत्मबलको कथा पनि हो सन्देश दिन्छ।’
यस फिल्मको नायक जीवन भट्टराई हुन् । उनीहरुसँगै फिल्ममा उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्ष भूमिकामा छन् ।
तीन हजार यौनकर्मीको अनुभव, संघर्ष र भोगाइमा आधारितमा रहेर यो फिल्म तयार भएको निर्माण पक्षको दाबी छ । फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्। नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ ।






