एउटै घर भित्र सस्पेन्स थ्रीलर चलचित्रको छायांकन गर्न सकिएला ? नव निर्देशक दीपेश सापकोटाले यो कुराको जवाफ चलचित्र ‘मन्दिरा’ मार्फत दिन खोजेका छन् । असार २ गतेबाट रिलिज हुन लागेको चलचित्रको सम्पूर्ण छायांकन एउटै घर भित्र खिचिएको हो ।
यो बीचमा चलचित्रको सस्पेन्स थ्रीलर शैलीको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा एक उपन्यासकार र उनको कथा भित्रका पात्रहरुको शैलीलाई निकै सस्पेन्स शैलीमा प्रस्तुत गरिएको छ । चलचित्रको ट्रेलरमा रोमान्स, धोका, बदलाको कथा देखाइएको छ ।
चलचित्रमा नरेन खड्का, जे.वी.डी.सी, लक्ष्मी बस्नेत, प्रभन भुषाल, राजन ढुंगाना, संझना श्रीपाली, राजन सुवेदीको साथमा नव कलाकार बीनी पोख्रेली, विनिता ओलीको मुख्य भूमिका छ ।
चलचित्रमा देव राइको संगीत, अष्ट महर्जनको एक्सन, अर्जुन बीसीको कोरियोग्राफी, सुशान्त प्रजापतिको छायांकन, अजित लामिछानेको पटकथा तथा संवाद छ । चलचित्रका निर्माता करुणा अर्याल र उज्ज्वल अर्याल हुन् ।