मुम्बई(एजेन्सी) । बलिउड फिल्म ‘बाहुबली २ः द कन्क्लुजन’ले विश्व बक्स अफिसमा १ हजार करोड बढी व्यापारको रेकर्ड राखिरहँदा फिल्मका निर्माताहरु भने ‘बाहुबली ३’को तयारीमा जुटेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरु नयाँ कथा कसरी बनाउने भन्ने विषयमा छलफल गरिरहेका छन् ।
फिल्मका प्रमुख पात्र प्रभासलाई हिन्दी फिल्ममा उदयीमान स्टार बनाउनका लागि फिल्मका निर्देशक एसएस राजमौली र वितरक करण जोहारले हालै मात्र छलफल गरेका थिए । करणसँगको छलफल पछि राजामौली लण्डन उडेका थिए ।
लण्डनमा रहँदा आफ्नो फिल्म हजार करोड क्लबमा प्रवेश गरेको थाहा पाएपछि निर्देशक राजामौलीले तेस्रो सिक्वेल बनाउने योजना बनाएका हुन् । लण्डनमा उनीसँगै बाहुबलीका निर्माता सोभु यारलागडा पनि छन् ।
‘राजामौली र उनका निर्माता सोभा यारलागडा तेस्रो फिचर फिल्मको लागि छलफलमा छन् । राजामौलीका पिता के विजेयन्द्र प्रसादले राजामौलीलाई तेस्रैो फिल्मका लागि हुनसक्ने सम्भावित कथा खोज्न सुझाव दिएका छन् । अन्य लेखकलाई पनि उनले कथाको खोजी गर्न आग्रह गरेका छन् । हलिउडका ‘मिसन इम्पोसिबल’, ‘किङ आर्थर’ जस्ता फिल्ममा कथा लेखेका लेखकलाई पनि बाहुबली ३ को सम्भावित कथा के हुनसक्छ भन्ने चासो विजयेन्द्रले दिइरहेका छन् । सबै कुरा समयमै भयो भने बाहुबली ३ सुटिङमा जान समय लाग्दैन ।’ निर्देशक राजामौलीको भनाई उदृत गर्दै सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन् ।
करण जोहार र सोभा यारलागडा पनि राजामौलीसँग तेस्रो फिल्मका लागि काम गर्न उत्साहित छन् । ‘बाहुबली ३’का लागि दुवै निर्माताहरु एकैठाउँमा आउँछन् भने त्यसमा राजामौलीले पनि साथ दिनेछन् ।’ स्रोतले भन्यो ।