मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइराला चाँडै नै एकपटक पुनः ठूलो पर्दामा पुनरागमन गर्दैछिन् । उनी फिल्म ‘डियर माया’को माध्यमबाट पर्दामा देखिन लागेकी हुन् । यो फिल्मलाई लिएर उत्साहित मनिषाले फिल्मकै बारेमा भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दा अब पुनः विवाह नगर्ने बताएकी छन् ।
‘म अब पूर्ण रुपमा काममा मात्र ध्यान दिनेछु, म विवाहलाई नो चान्स भन्न चाहन्छु,’नेपालका व्यापारी सम्राट दाहालसँग विवाह गरेर अलग्गिएकी मनिषाले भनिन्,‘म विवाह त के अन्य कुनै पनि सम्बन्धमा जोडिन चाहन्नँ । मेरो जिन्दगी अब धेरै अगाडि बढिसकेको छ ।’
क्यान्सरको बिरामीबाट मुक्ति पाईसकेकी मनिषाले विश्वका धेरै देश घुमिसकेकी छन् । त्यसकारण पनि उनले विवाह जस्तो बन्धनयुक्त संस्कारभन्दा टाढा बस्न चाहेको बताएकी छन् । ‘म नयाँ कुरा खोज्न निकाल्न चाहन्छु, जब म क्यान्सर रोगसँग जुधिरहेको थिएँ, त्यो बेला मैले जिन्दगीको अर्थलाई नजिकबाट नियालें, अब मेरा लागि जिन्दगी एकल नै ठिक रहेछ ।’उनले भनेकी छन् ।
मनिषाले आफ्नो जिन्दगीको कथा फिल्म ‘डियर माया’ कहानीसँग मिल्ने खुलासा गरेकी छन् । यो फिल्म चाँडै रिलिज हुँदैछ ।