गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ‘मेरी कुसुम’ अहिले यूएइका विभिन्न शहरमा प्रदर्शन भैरहेको छ । चलचित्रका मुख्य कलाकार मोहन बोगटीले दिएको जानकारी अनुसार गत बिहिबार, शुक्रबार र शनिबार चलचित्रको भव्य प्रदर्शन अवुधाबीमा रहेको मुसाफा मार्केट र नेशनल सिनेमा, अल ऐन मलमा रहेको अल ऐन ग्रान्ड सिनेमामा गरिएको थियो । हरेक हलमा बिहिबार एक शो, शुक्रबार २ र शनिबार १ शो आयोजना भएको थियो ।
चलचित्र हेर्नका लागि हरेक शोमा दर्शकको उत्साहजनक उपस्थिती रहेपछि कलाकार बोगटी दंग देखिएका छन् । उनले भने–‘अवुधाबी र अल ऐन सिटीमा हरेक शोमा दर्शकको उपस्थिती उत्साहजनक देखियो । उहाँहरुले चलचित्रको कथावस्तु, गीतसंगीतलाई निकै रुचाउनुभयो ।’
यसबाहेक, दुबइ, सार्जा, फुजेरा लगायतका सिटीमा अर्को हप्ता चलचित्र लाग्नेछ । एन.आर घिमिरले निर्देशन गरेको यो चलचित्रमा मोहनका साथमा नायिका हर्षिका श्रेष्ठको मुख्य भूमिका छ । रविन्द्र कुँवर र सुनिता शर्मा बोगटीले चलचित्रमा लगानी गरेका हुन् ।