मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री ममता कुलकर्णी र उनका प्रेमी विकी गोस्वामीलाई ठाणेको एक विशेष अदालतले २ हजार करोड रुपैंयाँको ड्रग्स रैकेट मुद्धामा दोषी ठहराएको छ । अदालतले ममतालाई भगौडाको संज्ञा दिँदै उनको सबै सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ ।
नार्कोटिक्स ड्रग्स एन्ड साइकोट्रपिक सब्सटेन्स कोर्टका न्यायधिश जज एच एम पटवर्धनको आदेशमा भनिएको छ,‘यो घोषणा गरिन्छ कि आरोपी ममता कुलकर्णी र विकी गोस्वामी दोषी छन् । दुवै आरोपीको अचल सम्पत्ति जफत गर्न पनि आदेश दिइन्छ ।’ ममता र विकी दुवैजना २ हजार करोड मूल्य बराबरको एफेड्राइन ड्रगको कारोबारका दोषीका रुपमा अदालतले खोजिरहेको छ ।
फिल्म ‘करन–अर्जुन’, ‘सबसे बड़ा खिलाड़ी’, ‘बाजी’ जस्ता सुपरहिट फिल्ममा अभिनय गरेकी ममता लामो समयदेखि फरार छिन् । एक प्रहरीले एक वर्षदेखि मुख्य आरोपी फरार रहेको बताए । ‘ममता अहिले पनि फरार छिन्, जबकी उनका पार्टनर विकी गोस्वामी केन्यामा गिरफ्तार भइसकेका छन् । हामी सबै ममताको लोकेशन लोकेट गर्ने कोशिसमा छौं ।’ती प्रहरी अधिकारीले भनेका छन् ।