त्रिलोचन पंगेनी
प्रवक्ता, नेपाल राष्ट्र बैंक
संसारका अधिकांश व्यक्ति एउटै उद्देश्यका साथ मिहिनेत गर्ने गर्छन्, त्यो हो पैसा कमाउने । तर, यसरी आफ्नो क्षमता, दक्षता र योग्यताअनुसार कमाइ गरिने पैसाको सुरक्षामा भने विशेषगरी हामी नेपाली त्यति ध्यान दिँदैनौँ । जसका कारण हामीले प्रयोग गर्ने नोट चाँडै झुत्रिने तथा च्यातिने हुन्छ । कागजको नोटमा केरमेट गर्ने, स्ट्याम्प लगाउने तथा स्टिचिङ गर्ने प्रवृत्तिले नोट चाँडै बिग्रन्छ । नेपाली परम्परा तथा संस्कृतिले पनि नोटको आयु घटाउन धेरै सहयोग गरेको छ । हामीले निकै महत्व दिने नोटको आयु बढाउन ख्याल गर्नुपर्ने विषयबारे नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीको सुझाब यस्तो छ:
-नोटलाई एकमुष्ट बनाउँदा स्टिचिङ गर्ने बानीमा सुधार गर्नुपर्छ । यसरी टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयुसमेत घट्छ । यस्तो कार्य गर्नु हुँदैन ।
-नेपाली परम्पराअनुसार विभिन्न पर्वमा नोटमा पानी चढाउने तथा पानीमा नोट डुबाउने चलन छ । त्यस्तै, पूजा गर्दा नोटमा टीका लगाउने प्रचलनले पनि नोट चाँडै बिग्रन्छ । यस्तो संस्कृतिमा पनि सुधार गर्नुपर्छ ।
-नोटलाई पकेटमा माया गरेर राख्नुपर्छ । कच्याककुचुक पारेर राख्दा नोट च्यातिने तथा झुत्रिने सम्भावना बढी हुन्छ ।
चोरी हुने तथा लुटिने डरले पनि मानिसले नोटलाई कुच्याएर राख्छन् । नोटको जतन गर्न अनिवार्य रूपमा मनीब्याग प्रयोग गर्ने बानी बसाल्नुपर्छ ।
-नोट सुरक्षित तरिकाले प्रयोग गर्ने तरिकासम्बन्धी प्रचार–प्रसार आवश्यक छ । ज्ञानको अभावले पनि यस्तो भइरहेको छ ।
नोटलाई माटो, धमिरा, आगो र पानीबाट जोगाएर राख्नुपर्छ ।
-नोटलाई गाड्ने, धेरै समयसम्म पोको पारेर राख्ने गर्नाले नोट सड्ने डर हुन्छ । यस्तो कार्यलाई निरुत्साहित गर्नुपर्छ । घरैमा भण्डार गर्नुभन्दा वित्तीय संस्थामा डिपोजिट गर्नु राम्रो हुन्छ ।
-पूजा गर्दा अथवा कुनै पनि काम गर्दा मैलिएका हातले सकेसम्म नोट छुनु हुँदैन ।
-कारोबारका क्रममा शंकास्पद नोट पाइएमा नजिकैको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गर्नुपर्छ ।
-नोटलाई मठ–मन्दिर वा पूजापाठ आदि धार्मिक कार्यमा प्रयोग गर्दा नोटमा रङ, अबिर, पानी, दूध, रगत आदि नपारौँ । बरु दानपेटिकामा हाल्ने वा सम्बन्धित धार्मिक अनुष्ठानको रसिद काटी चन्दा प्रदान गर्ने चलन चलाउनु राम्रो हुन्छ ।
-नयाँ पत्रिका