काठमाडौं । हाँस्य कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले मुसहर बालबालिकामाझ आफ्नो जन्मदिन मनाएकी छिन् । महोत्तरी बर्दिबासमा रहेका मुसहर बालबालिकालाई टिफिन बक्स वितरण गरेर उनले जन्मदिन मनाएकी हुन् । मुसहर बालबालिकाले सम्मान र शुभेच्छासहित कुञ्जनाको जन्मदिनलाई विशेष बनाइदिएका छन् । उनीहरुले गरेको सम्मानले आफुलाई भावुक बनाएको कुञ्जनाले बताइन् ।
मुसहर बस्तीका बालबालिकामा आएको परिर्वतन देखेर आफुहरु भावुक बनेको उनको भनाई छ । ‘जुन परिर्वतनको अपेक्षा गरेका थियौँ । त्यो देख्न पाउँदाको आनन्द शब्दमा व्यक्त गर्न सकिरहेको छैन,’ कुञ्जनाले भनिन्, ‘मुसहर बालबालिका नियमित पढ्न थालेका छन् । तर उनीहरुलाई घरबाट खाजा लैजानका लागि समस्या छ । त्यसैले जन्मदिनमा हुने खर्चले टिफिन बक्ससँगै केहि शैक्षिक सामग्री किनेर दिएँ । उनीहरुसँगै रमाईलो गरेर जन्मदिन मनाएँ ।’
सरसफाई अभियानका क्रममा मुसहर बस्ती पुगेका धुर्मुस सुन्तलीले गएको वैशाखमा ५३ परिवार मुसहरका लागि एकिकृत बस्ती बनाएर हस्तान्तरण गरेका थिए । बालविवाह, अशिक्षा, गरिबीलगायतका समस्याबाट पिल्सीएको मुसहर समुदायमा धुर्मुस सुन्तली प्रवेश गरेपछि निकै परिर्वतन भएको थियो । उनीहरुकै कारण बस्तीका १ सय भन्दा बढी बालबालिका नियमित विद्यालय जान थालेका छन् ।
सुन्तलीको जन्मदिनमा शंकर बिसी, पशुपति शर्मा, मञ्जु पौडेल, रमेशराज भट्टराई, जानुका केसी, पल्पसा डंगोल, सुशिला निरौला, जुनु रिजाल, रामचन्द्र काफ्लेलगायतका कलाकारको टोली मुसहर बस्ती पुगेका थिए ।