मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अनिल कपुरसँग तेस्रोपटक स्क्रिन शेयर गर्न लागेकी सुन्दरी बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले नयाँ फिल्ममा ग्ल्यामरस गायिकाको भूमिका निर्वाह गर्ने भएकी छन् । प्रेरणा अरोराले निर्माण गर्न लागेको फिल्म ‘फेनी’ खान’मा ऐश्वर्यालाई गायिकाको रुपमा प्रस्तुत गर्न लागिएको निर्माता प्रेरणाले बताइन् ।
फिल्ममा अतुल मञ्जरीकरको डेब्यु निर्देशन हुनेछ । यो फिल्म सन् २०००मा रिलिज डच फिल्म ‘एभरीबडीज फेमस’को भारतीय संस्करण हुनेछ । हाल अमेरिकामा फेमिली भ्याकेसन मनाइरहेकी ऐश्वर्याले यो म्युजिकल ड्रामा फिल्मका लागि मुम्बई फर्किनासाथ काम शुरु गर्नेछिन् ।
‘ऐश्वर्या बलिउडकी प्रतिभावान कलाकार हुन् । यो फिल्ममा उनले अहिलेसम्म फिल्ममा गरेको अभिनय भन्दा भिन्न अवतारमा दर्शकले हेर्न पाउनुहुनेछ ।’ प्रेरणाले जारी गरेको विज्ञप्तिमा भनेकी छन् । फिल्ममा गायिकाको भूमिकामा ऐश्वर्या रहने भए पनि वास्तविक जीवनमा समेत गीत गाउन उनलाई आग्रह गर्ने बताइन् ।
अभिनेता अनिलले फिल्मका गीतमा स्वर दिनेछन् । अनिलले अगष्टको पहिलो साताबाट फिल्मको काम शुरु गर्नेछन् । फिल्मको सुटिङ अक्टोबरमा सकिनेछ । अनिल र ऐश्वर्याले ‘ताल’ र ‘हमारा दिल आपके पास है’मा सँगै काम गरिसकेका छन् ।