काठमाडौं । वास्तविक जीवनकथामा आधारित फिल्म ‘सिग्नेचर’ले सकारात्मक सोचका लागि एक दिने अभियान सञ्चालन गर्ने भएको छ । सोच नै सबै समस्याको जड भएको भन्दै फिल्मले ‘सिग्नेचर मुभि थिंक पोजेटिभ ग्लोबल’ अभियानको आयोजना गर्न लागेको हो ।
सभ्य सिर्जनाको प्रस्तुति, स्कुल फाउन्डेसनको आयोजना र एएचएफको सहयोगमा हुन लागेको अभियान यही असार २४ गते, शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म, नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गइरहेको छ । अर्किड केयर होमको प्रमुख सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रमलाई रेड सर्कल क्रिएटिभ सोल्युसन्सले व्यवस्थापन गर्ने छ ।
एक दिने इभेन्टको रूपमा सञ्चालन हुन लागेको कार्यक्रममा फिल्मको स्क्रिनिङ र स्क्रिनिङपछि फिल्मका कलाकारसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साथै, कार्यक्रममा कन्डम वितरण, रक्तदान, स्वास्थ्य जाँच, साइकोलोजिकल काउन्सिलिङका साथै टिकटमा विशेष उपहारहरूको व्यवस्था समेत गरिएको छ । यसका लागि ओम हस्पिटल र एजुकेसन एन्ड माइग्रेसन कर्नरले सघाउने छन् ।
फिल्म सिग्नेचरले व्यक्तिको वास्तविक जीवनलाई विषयवस्तु बनाएको छ । एउटा मान्छे गर्भावस्थादेखि नै हुर्कँदै बढ्दै जाँदा उसमा घरपरिवार, समाजका विभिन्न तत्वहरूले पार्ने प्रभाव र त्यसको मनोवैज्ञानिक असरका कारण उसमा पैदा हुने नकारात्मक सोच र त्यही सोच अनुसारको उसको बाँनी, व्यवहार, आचरण र क्रियाकलापले उसको व्यक्तिगत जीवन र सिंगो समाजमा पर्न जाने असरलाई फिल्ममा अत्यन्तै कलात्मक र जिवन्त तरिकाले प्रस्तुत गरिएको छ ।
युवा अवस्थामा मानिसमा हुने साइकोलोजिकल र वायोलोजिकल परिवर्तनले ल्याउने उत्सुकता, आवेग अनि जीवन शैलीलाईव्यवस्थापन गर्न नसक्दा हीनता बोधका कारण दुव्र्यसनको दलदलमा फस्दछन् र यस्तो दुव्र्यसनले एउटा व्यक्ति वा परिवार कसरी क्षतविक्षत हुन्छ र त्यसको नकारात्मक असर सिङ्गो समाज, राष्ट्रलाई कसरी पर्न जान्छ भन्ने विषयलाई फिल्मले रोचक तवरले देखाउने प्रयास गरेको छ । अभियान मार्फत फिल्मले व्यक्तिमा सकारात्मक सोच, बाँनी, व्यवहार र आशावादी जीवन जिउने उत्प्रेरणा दिने छ ।
ओस्कार इन्टरनेसनल कलेज(कलेज अफ फिल्म स्टडिज)का अध्यक्ष सागर उद्गमको अनुसन्धान, लेखन, निर्देशनमा बनेको फिल्म सिग्नेचरलाई गीतकार प्रकाश सुवेदी र सागर उद्गमले निर्माण गरेका हुन् । फिल्ममा विनोद पौडेल, सन्दिप क्षेत्री, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, सरिता गिरीको अभिनय रहेको छ भने मुख्य सहायक निर्देशक तथा कस्ट्युम डिजाइन रमेशबाबा नेपाल, छायाङकन पुरुषोत्तम प्रधान, धिरजजंग शाह, शिवराम श्रेष्ठ र नवराज सुवेदीको रहेको छ । फिल्ममा निशान घिमिरेको सम्पादन तथा रङ्ग समायोजन, अच्युत सिटौलाको गीत सङगीत र गायन, जीवन थापाको ग्राफिक्स, विवश पौडेलको पाश्र्व संगीत, मुकेश शाहको मिक्सिङ रहेको छ ।
यो अभियान र फिल्मलाई यूएनएडस, सरकारका गृह, शिक्षा, स्वास्थ्य, सूचना तथा सन्चार, संस्कृति तथा पर्यटन मन्त्रालयलगायत फिल्म विकास बोर्ड, लायन्स क्लब इन्टरनेसनल, रेडक्रस सोसाइटी, नेसनल सेन्टर फर एडस् एन्ड एसटीडी कन्ट्रोल ले एक्नलेजड गरेका छन् । यो अभियान पहिलो चरणमा देशभरका मुख्य सहरहरूमा सञ्चालन हुनेछ । यही अभियानको आगामी कार्यक्रम पोखराको दिपेन्द्र सभागृहमा, भदौ महिनामा सम्पन्न हुनेछ ।