मुम्बई(एजेन्सी । कहिलेकाँही बहुप्रतिक्षित फिल्मले सोचे जस्तो व्यापार नगर्दा फिल्म निर्माता भन्दा पनि वितरकलाई बढी नोक्सान हुने गरेको छ । बलिउड स्टार सलमान खान अभिनित पछिल्लो फिल्म ‘ट्युबलाइट’ले फिल्मको वितरकलाई ठूलो घाटामा पारिदिएको छ । फिल्मको भारतमा वितरणका लागि एनएच स्टुडियोले १ सय ३२ करोड रुपैंयाँमा वितरण अधिकार लिएको थियो । यो स्टुडियोले सलमानको फिल्मबाट राम्रो आम्दानी लिने सोच बनाएर फिल्म खरिद गरेको थियो । तर अहिले यही फिल्मले वितरकलाई नराम्रो घाटा लगाइदिएको छ ।
फिल्म रिलिजको झण्डै दुई साता बित्न लाग्दा सोचे जस्तो व्यापार नगरेपछि अहिले वितरकलाई टाउको दुखाईको विषय बनेको छ । फिल्मले स्वदेशी बजारमा नै सोचे जस्तो व्यापार नगरे पछि झण्डै ७२ करोडको घाटा व्यहोर्नु पर्ने अवस्था वितरकलाई आइपरेको छ ।
स्थानीय सिंगल थिएटरका वितरकले पनि घाटा व्यहोर्नु परेपछि उनीहरु मुम्बईमा सलमानलाई हारगुहार गर्न आइपुगेका छन् । तर सलमानले उनीहरुको कुरामा चासो दिएका छैनन् ।
यो फिल्मले दुई साता पुग्न लाग्दा झण्डै १ सय २५ करोडको व्यापार गरेको छ । यही हिसाब हेर्ने हो भने वितरकले झण्डै ५६ करोड मात्र हातमा पाउनेछन् । बाँकी ७५ करोड रुपैंयाँ नउठ्नेमा उनीहरु अब करिब ढुक्क भइसकेका छन् ।