काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्यापति पुरस्कार कोषबाट सञ्चालित विभिन्न पाँच विधाका पुरस्कार स्रष्टालाई दिएकी छन् । कोषले आयोजना गरेको समारोहमा उनले सो पुरस्कार प्रदान गरेकी हुन् ।
दुई लाख रुपैंयाँको ‘नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार’ मिथिला नाट्य कला परिषद्लाई प्रदान गरिएको छ भने एक–एक लाखको ‘नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार’ प्राडा वीरेन्द्र पाण्डे, ‘नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार’ मुरलीधर विश्वकर्मा, ‘नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार’ नवीनकुमार मिश्र र ‘नेपाल विद्यापति मैथिली पाण्डुलिपी पुरस्कार’ अवधेष पोखरेललाई प्रदान गरिएको हो ।
मैथिली साहित्यका आदिकवि विद्यापतिको सम्मानमा नेपाल सरकारले विसं २०६८ मा रु एक करोड अनुदान दिई सो कोष स्थापना भएको थियो भने यस वर्ष दिइएको पुरस्कार पाँचौं शृङ्खला हो ।
राष्ट्रपति भण्डारीले मैथिली साहित्यको जग बसाल्न र तराई पहाडका नेपाली कला संस्कृतिबीचलाई जोड्न विद्यापतिले दिएको योगदानको प्रशंसा गर्दै विद्यापतिको व्यक्तित्व र कृतित्वबारे नयाँ पुस्तालाई थप जागृत गराउनुपर्ने बताइन् । उनले यस्ता कोष र पुरस्कारका लागि राज्यले निरन्तर चासो दिनुपर्नेमा पनि जोड दिइन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सबै भाषा, संस्कृति र साहित्यको समान जगेर्ना गर्न सकेमा मात्र मुलुुकको समानुपातिक र समावेशी विकास हुने बताए । कोषका अध्यक्ष विजय दत्तले कोषमा बजेट बढाउन सरकारसँग माग गर्दै यो पुरस्कारले मैथिली भाषा, साहित्य, संस्कृतिको अध्ययन अनुसन्धान गर्न प्रेरित गर्ने बताए ।