मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानको फिल्म ‘ट्यूबलाइट’ले सोचे अनुसार राम्रो व्यापार गर्न सकेन । तर पनि सलमानका फ्यानका लागि उनको भावनात्मक अभिनयले आकर्षण ग¥यो । यो फिल्ममा भाईसँग देखिएका सलमान अब नयाँ फिल्म आफ्ना पिताको नाममा समर्पित गर्न चाहेका छन् ।
समाचार अनुसार सलमान खान अब आफ्नो बहिनी अलवीराले निर्माण गर्न लागेको फिल्म ‘भारत’मा शीर्ष भूमिकामा देखिने भएका छन् । फिल्म ‘बजरंगी भाइजान’मा पाकिस्तान र ‘ट्युबलाइट’मा चीन जोडेका सलमानले फिल्म ‘भारत’मा कोरियालाई जोड्नेछन् । सलमानले अभिनय गर्ने फिल्म ‘भारत’ कोरियाली फिल्म ‘ओडी टु माई फादर’को अफिसियल हिन्दी रिमेक भर्सन हुनेछ । जसको कपिराइट सलमानको बहिनीले लिईसकेकी छन् ।
यो कोरियन फिल्म सन् २०१४ मा रिलिज भएको थियो । जसको निर्देशन योन जी क्योंले गरेका थिए । ५० को दशकमा भएको कोरियन युद्धपछि एक परिवारले भोगेको संघर्षलाई फिल्मले देखाएको छ । यो फिल्मले कोरियन बक्स अफिसमा सेकेण्ड हाइएस्ट ग्रस कलेक्सन गरेको थियो । हिन्दी भर्सनको फिल्ममा अलवीरालाई उनका पति अतुल अग्निहोत्रीले निर्माणमा सघाउनेछन् ।
फिल्मको काम आगामी वर्षबाट शुरु हुनेछ । सलमानको फिल्मको कथा आजकल विदेश भ्रमणमा आधारित हुन थालेको छ । सलमान हालका दिनमा अली अब्बास जफरको फिल्म ‘टाइगर जिन्दा है’को बाँकी काम सक्ने गरी काम गरिरहेका छन् । नयाँ फिल्मको निर्देशन पनि अली अब्बासले नै गर्नेछन् ।