काठमाडौं । फिल्म ‘वीरविक्रम’को रिलिज पछि निर्देशक मिलन चाम्सको व्यस्तता फिल्म निर्माण र निर्देशनमा ह्वात्तै बढेको छ । ‘ह्याप्पी डेज’ र ‘ब्लाइन्ड रक्स’को पोष्ट प्रोडक्सन भइरहँदा यी हँसिला निर्देशक ‘बोबी’को सुटिङमा यतिबेला तालनगरी पोखरामा व्यस्त छन् ।
दुई फिल्मको पोष्ट प्रोडक्सन र अर्को फिल्मको छायांकन भइरहँदा उनले सोमबार नयाँ प्रोजेक्ट ‘लिलिबिली’ निर्माण घोषणा गरेका छन् । बेलायतको लन्डन र स्कटल्यान्डमा खिचिने फिल्मको बजेट झण्डै साढे दुई करोड छ । फिल्ममा गतवर्ष नेपालमै खिचिएको हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’मा अभिनय गरिसकेकी शिल्पा मास्के लिड रोलमा हुनेछिन् ।
‘म अर्की एक नायिका र नायकको खोजीमा छु । फिल्म त्रिकोणात्मक प्रेमकथा नै हो’ चाम्सले भने, ‘दर्शकले यसमाथि मज्जा लिन सक्नुहुनेछ ।’ मिलनले आफ्नो कम्पनी चाम्स इन्टरटेनमेन्ट, गोविन्द शाहीको काफिया फिल्मस र हालै ‘कारखाना’ निर्माण गरेका सुदीप खड्काको टाइम्स इन्टरटेनमेन्टसँग मिलेर ‘लिलिबिली’ बनाउन लागेका हुन् ।
चाम्स निर्देशित ‘ह्याप्पी डेज’ मंसिर १५ गते रिलिज हुँदैछ भने ‘ब्लाइन्ड रक्स’ बेलायत, चीन, हङकङ र अष्ट्रेलिया पछि नेपालमा प्रदर्शन गरिनेछ ।