मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानको होम प्रोडक्सन फिल्म ‘ट्यूबलाईट’ले बक्स अफिसमा खासै राम्रो कमाई गरेन । फिल्मको वितरणको जिम्मा लिएका वितरकले घाटा खाएपछि सलमानसँग पैसा फिर्ता मागिरहेको समाचार पनि सार्वजनिक भएको थियो । वितरकका कुरालाई नजिकबाट बुझेका सलमानले झण्डै ५५ करोड रुपैंयाँ वितरकलाई फिर्ता गरिदिएका छन् ।
वितरकले आफुहरुको पैसाको भरपाई भएर आफ्नो नोक्सानबाट मुक्त हुनका लागि सलमानसँग अपिल गरेका थिए । सलमानले वितरकको मागलाई सम्बोधन गर्न आफ्नो दयालुपन देखाएर झण्डै ५० देखि ५५ करोडको हाराहारीमा क्षतिपूर्ति रकम फिर्ता गरिदिएका हुन् । यसअघि दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले फिल्म ‘बाबा’को असफलता पछि वितरकलाई रकम फिर्ता गरिदिएका थिए ।
सलमानको फिल्मी करियरमा आफूले अभिनय गरेको फिल्मले राम्रो व्यापार नगरेपछि रकम नै फिर्ता गरिदिएको सम्भवत यो नै पहिलो घटना हो । फिल्मले सोचे भन्दा कम व्यापार गरपछि सलमानलाई पनि वितरकको पैसा तिरिदिन बाध्य परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सलमानका पिता सलिमले नै सलमानलाई यो कदम उठाउन सुझाव दिएका थिए । उनले वितरकसँग बैठक बसेरै यो विषयमा निर्णय लिएका थिए ।