काठमाडौं । पतिसँग सम्बन्धविच्छेद गरेर अलग्गिए पनि पति पत्नीबीच देखावटी भन्दा पनि भित्री माया रहिरहन्छ । लामो समयसम्म सँगै बसेका उनीहरु कानूनी रुपमा अलग्गिए पनि भावनात्मक रुपमा एकै किसिमका हुन्छन् । भलै त्यो सम्बन्ध देखाउन नै किन नपरोस् ।
अभिनेत्री सुस्मिता केसी एकताका नेपाली फिल्म क्षेत्रका सदाबहार नायक भुवन केसीकी श्रीमति थिइन् । उनीसँग सम्बन्धविच्छेद भएपछि भुवन र सुस्मिता अलग्गै बस्छन् । तर उनीहरु समय समयमा आयोजना हुने कार्यक्रममा भेट भएर प्रत्यक्ष माया नदर्शाए पनि मिडियामार्फत माया प्रस्तुत गरिरहेका हुन्छन् । सुस्मिताको माया भुवन प्रति कति छ भन्ने कुरा सोमबार उनले फेसबुकमा राखेको सामाजिक सञ्जालबाट प्रष्ट हुन्छ ।
उज्यालो अनलाइनका लागि अभिनेत्री पुजा शर्माले दिएको अन्तवार्तामा ‘भुवन केसी र अनमोल केसी भाग्यले चलेका हुन्’ भन्ने अन्तवार्ता दिएपछि सुस्मिताको आक्रोश चुलिएको छ । उनले फेसबुकमा स्टाटस नै लेख्दै पुजालाई ‘हिजो आएको चल्लाहरु बेसी चु चु गरेको राम्रो हुन्न’ भन्दै रिस पोखेकी छन् ।
उनले स्टाटसमा यस्तो लेखेकी छन्:
‘पुजा तिमीलाई म बोल्नु भन्दा अघि केही कुरा सोच्नका लागि सुझाव दिन्छु । हिजो आएको चल्लाहरुरु बेसी चु चु गरेको राम्रो हुन्न । तिमी कसरी भन्न सक्छौ भुवन केसी भाग्यले चलेको ? सम्झना र कुसुमे रुमाल जस्तो सुपरहिट फिल्म भुवनले दिँदा सायद तिमी जन्मेको पनि थिएनौ होला । भुवन केसीको नाम सुनौलो अक्षरले नेपाली फिल्म उद्योगमा लेखिँदैछ । तिमीलाई त्यो कुरा थाहा छ ? उनले आफ्नो जीवन नै नेपाली फिल्मका लागि त्याग गरे । व्यक्तिगत जीवनमा जे सुकै होस्, तर हामीले उसलाई कलाकार र निर्माताका रुपमा इज्जत गर्नुपर्छ । फिल्म क्षेत्रमा ४० वर्ष बिताउनु के भाग्यले मात्रै हो ? उसको देन केही पनि छैन हो ? आफू भन्दा वरिष्ठ स्रष्टाहरुको कामको अनि नामको सम्मान गर्न सिक्नु है पुजा । सफल हुनुको मूल मन्त्र नै त्यही हो । बेसी उम्लिएको राम्रो हुन्न ।