नेपाली फिल्म उद्योगका लागी सुदर्शन थापा परिचित नाम हो । पहिलो फिल्म ‘मेरो एउटा साथी छ’ बाट निर्देशनमा उदाएका सुदर्शनले सो फिल्मबाट नै तारिफ पाए उक्त समयमा नै उनलाई संभावना बोकेका निर्देशकको रुपमा लिईयो ।
त्यसपछि उनले लगातार फिल्म गर्दै आए, कुनै फिल्म व्यवसायिक रुपमा सफल बने कुनै फिल्मले समिक्षकको मन जिते । दुई बर्ष पहिले रिलिज ‘प्रेमगीत’ फिल्मले उनलाई पुनः एकाएक चर्चामा पुर्यायो, फिल्मले दर्शकको मन जित्यो, लभस्टोरी कथामा उनि अब्बल देखिए । तर उक्त फिल्मको निर्माण टिमसँग सम्बन्ध खूम्चिएपछि सोहि फिल्मको हिट गीतको टाईटल लिएर निर्माण गरि रिलिजको क्रममा रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’लाई अग्नि परिक्षाको रुपमा हेरिएको छ ।
त्यसो त ‘प्रेमगीत’ सफल हुनुमा हाई बजेट र प्रस्तुतीकरणलाई प्रमुख कारण ठान्नेहरु पनि धेरै हुँदा यो पटक आफै निर्माता बनेका सुदर्शनले ‘प्रेमगीत’ जत्तिको स्तरिय फिल्म दिएर निर्माता र निर्देशन दुबै विधामा आफुलाई पुनः प्रमाणित गर्ने आशा दर्शक तथा समग्र सिने जगतले गरेको छ । उता सुदर्शनसँग पछिल्ला केहि फिल्ममा लगातार सँगसँगै देखिएकी अभिनेत्री पूजा शर्मा पनि यो अग्नि परिक्षाबाट अछुतो छैनन् ।
‘मधुमास’ यता ‘चंखे शंखे पंखे’ अनि प्रेमगीत पछिल्ला रिलिज सुदर्शनका तीनै फिल्ममा देखिएकी पूजा यो पटक पनि सँगसँगै छिन्, सुदर्शनको मात्र फिल्म खेल्ने आरोप त उनलाई हरेक समय लाग्दै आएको छ नै त्यसमा पनि उनलाई एकाएक चर्चामा ल्याएको ‘प्रेमगीत’को हाईप र क्रेजलाई जोगाईराख्न सक्छिन् या सक्दिनन् पनि परिक्षाको विषय हो ।
त्यसो त ‘प्रेमगीत’ फिल्ममा प्रदिप खड्काको अपोजिटमा देखिँदा पूजाको जोडी नजमेको चर्चा पनि राम्रै चल्यो, यो पटक पल शाहको अपोजिटमा आउँदा यहाँ पनि पल सँग उनको क्यामेष्ट्री कस्तो जम्यो होला अर्को पर्खाईको विषय बनेको छ । उता ‘म यस्तो गीत गाउँछु’लाई सिधा पूजासँग जोडेर हेर्ने अनि यो फिल्मलाई उनको करियरको टर्निङ प्वाईण्टको रुपमा लिने जमात पनि उत्तिकै छ । फिल्ममा जोडिएको सशक्त सांगितिक पक्ष अनि ट्रेलरले एक प्रकारको हाईप बनाईसक्दा सुदर्शन, पूजा र पलको यो फिल्म प्रतिक्षित बनेकोमा भने दुई मत छैन् ।
लगातार सुदर्शन र पूजा सँगसँगै देखिँदा यो पटक दुबै जना अग्नि परिक्षामा सफल हुन्छन् या हुँदैनन् त्यो भने बुधबार साँझ हुन गईरहेको प्रिमियर प्रतिक्रिया अनि शुक्रबारपछिको रिलिजले बोल्ने छ, तर यो फिल्मको व्यवसायिक सफलता र असफलताले भने पक्का पनि सुदर्शन र पूजाको आगामी बाटोमा कहिँकतै प्रभाव पार्नेमा भने शंका छैन् ।