काठमाडौं । प्रख्यात हाँस्यकलाकार जोडी ‘मह’का मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ पाठकमाझ आउने भएको छ । फाइन प्रिन्टले प्रकाशनको तयारी गरेको पुस्तक आगामी भदौ २० मा सावर्जनिक हुँदैछ । ललितपुरको झम्सिखेलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठ र प्रकाशक फाइनप्रिन्टका कार्यकारी अधिकृत नीरज भारीले पुस्तक करारमा हस्ताक्षर गरे ।
कार्यक्रममा कलाकार श्रेष्ठले आफू साधारण मानिस भएको बताए । ‘म त साधारण मानिस । बेन्जामिन फ्र्याङ्लिन, अब्राहम लिङ्कन, महात्मा गान्धी, बीपी कोइरालाजस्तै मेरो कुनै ठूलो योगदान छैन, मेरा आत्मकथा कसले पढ्ला, मेरो जीवनमा त्यस्तो के उल्लेख्य होला भनेर सोच्थें,’मदनकृष्णले भने,‘तर पछि साथीभाइको सल्लाह, प्रेरणा, दबाबले मैले लगभग ६ वर्ष अघि आफूले आत्मकथा लेख्न सुरु गरेको थिएँ ।’
मदनकृष्णले श्रीमतीलाई क्यान्सर भएपछि उनको उपचारका लागि बैंकक, भारतलगायतका ठाउँ जानु परेकाले तये बेला लेख्ने मुड नभएको खुलाए । ‘तैपनि कहिलेकाहिँ श्रीमतीले अलि आराम महसुस गरेको बेला लेख्थें । फेरि पार्किन्सन्स रोग लागेपछि त झन् लेख्दा हात काम्ने हुनाले लेख्न धेरै समय लाग्यो ।’
पत्रकार सम्मेलनमा बोल्दै महका अर्का सदस्य हरिवंश आचार्यले सबै मानिसको आत्मकथा भएपनि कसैले लेख्ने धेरैले नलेख्ने बताए । ‘म खुसी छु, मदन दाइको पनि आत्मकथा आउन लागेको छ । यो मेरो पनि आत्मकथा हो, त्यसैले मलाई मेरै आत्मकथा आउन लागेझैं महसुस भइरहेको छ ।’ हरिवंशले भने ।
फाइनप्रिन्टका नीरज भारीले चार वर्ष अघि हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ प्रकाशन गर्ने अवसर पाएको सम्भना गरे । ‘आज उहाँकै कलाकारिताका सहयात्री आदरणीय मदनकृष्ण श्रेष्ठ दाइको आत्मकथा पनि हामीले नै प्रकाशन गर्न पाउँदा म साह्रै हर्षित भएको छु ।’ भारीले भने । उनले श्रेष्ठ र उनकी श्रीमति यशोदाको ४४औं विवाह वार्षिकी पारेर पुस्तक सार्वजनिक गर्न लागेको पनि बताए । आत्मकथा लगभग एक लाख पाँच हजार शब्दको छ ।