आजबाट दुई प्रतिक्षित फिल्म ‘म यस्तो गीत गाउँछु’ र ‘सायद-२’ प्रदर्शनमा आएका छन्। ‘सुदर्शन थापा प्रोडक्सन’को ब्यानरमा निर्माण भएको ‘म यस्तो गीत गाउँछु’लाई लभस्टोरी फिल्म निर्देशनमा अब्बल मानिएका निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् भने ‘सायद’, ‘होस्टेल’, ‘होस्टेल रिटर्नन्स्’ जस्ता सफल फिल्म दर्शकमाझ ल्याएको निर्माण कम्पनी ‘दुर्गिस फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्म ‘सायद-२’लाई पुष्पराज नौपान्यले निर्देशन गरेका हुन्।
‘म यस्तो गीत गाउँछु’ निर्देशक थापाले यस अघि ‘मेरो एउटा साथी छ’, ‘के यो माया हो’, ‘मधुमास’, ‘प्रेम गीत’ जस्ता फिल्म निर्देशन गरिसकेका छन्। गीत संगीतले पनि चर्चामा रहेको ‘म यस्तो गीत गाउँछु’ दर्शकमाझ प्रतिक्षित बनिरहेको छ। फिल्मको ट्रेलर र गीतलाई पनि दर्शकले युट्वुबमा राम्रो प्रतिक्रिया दिइरहेका छन्। बुधबार राजधानीको एक हलमा गरिएको ‘प्रिमियर शो’मा पनि फिल्मलाई राम्रो प्रतिक्रिया मिलेको थियो।
‘म यस्तो गीत गाउँछु’मा फिल्म ‘प्रेम गीत’बाट चर्चामा आएकी नायिका पूजा शर्मा र ‘नाई नभन्नु ल-४’ डेब्यु नायक पल शाहको मुख्य भुमिका छ। पूजा र पल संगै फिल्ममा सरोज खनाल, रुपा राणा, राजाराम पौडेल लगायतको अभिनय रहेको छ।
त्यस्तै कुनै समयको सफल फिल्म ‘सायद’को सिक्वेल फिल्म भएकाले पनि दर्शकहरु ‘सायद-२’ को प्रतिक्षाामा छन्। सुनिल रावलले निर्माण गरेको फिल्म ‘सायद-२’ मा शुसिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनील रावल, सुशील सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धिलाल मगर लगायतको अभिनय छ।
फिल्म ‘म यस्तो गीत गाउँछु’ म्युजिकल लभ स्टोरी फिल्म हो। फिल्ममा लभ, रोमान्स र इमोसनलाई देखाइएको छ। जसरी ‘म यस्तो गीत गाउँछु’ले प्रेमको महत्व दर्शाउछ त्यसको ठिक विपरित ‘सायद-२’ ले प्रेम सम्बन्धमा देखिने नकारात्मक पक्षलाई चित्रण गरेको छ। अब हेरौ दर्शकले लभ स्टोरी फिल्मलाई साथ दिन्छन् या मायाको नकरात्मक पक्षको विषयमा निर्माण भएको फिल्मलाई ?