मुम्बई(एजेन्सी) । हाल प्रदर्शनरत फिल्म ‘जग्गा जासुस’की अभिनेत्री बिदिशा बेजबरुआले गुरुग्रामस्थित आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेकी छन् । क्याट्रिना कैफ र रणवीर कपुरसँग काम गरेकी उनले आत्महत्याको बाटो रोजेकी हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिदिशा लोकप्रिय आसामी अभिनेत्री र गायिका पनि थिइन् । उनको आत्महत्याको कारण विवाहलाई मानिएको छ । उनको १४ महिना अघि विवाह भएको थियो । विवाह पछि उनी निकै तनावमा थिइन् । उनको आत्महत्यापछि बिदिशाका मातापिताले प्रहरीमा निवेदन दिँदै अर्की एक केटीसँग पतिको अफरले गर्दा छोरीले आत्महत्याको बाटो रोज्नुपरेको उल्लेख गरेका छन् ।
बिदिशाको विवाह गुजरातका निशीथ जैनसँग २०१६ मा भएको थियो । मातापिताको निवेदनका आधारमा प्रहरीले पतिका विरुद्ध आत्महत्याका लागि प्रोत्साहन गरेको अभियोगको मुद्धा दर्ता गराएको छ । बिदिशाले दिल्लीबाट पत्रकारिताको पढाई पुरा गरेकी थिइन् ।