शुक्रबारबाट रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु’ले बम्पर व्यापार गरेपछि यसको निर्माणपक्ष अहिले निकै खुशी देखिएको छ। मंगलबारसम्मको व्यापारबाटै फिल्मको लगानी नेपालबाटै सुरक्षित हुने पक्कापक्की देखिन्छ। निर्देशक सुदर्शन थापा भन्छन्–‘फिल्म लगानी सुरक्षित गर्ने दौडमा छ। नेपालबाटै फिल्मले राम्रो नाफा कमाउनेछ।’ फिल्मले रिलिज भएको २ दिन अर्थत शुक्रबार र शनिबारमै १ करोड ८० लाखको ग्रस कलेक्शन गरेको आँकडा वितकरहरुले दिएका थिए।
फिल्म सफल भएपछि निर्देशक सुदर्शन थापा, नायक पल शाह, नायिका पूजा शर्मा, कलाकार राजाराम पौडेलको टीम मोफसल दौडमा लागेको छ। यो टिमले मोफसलका दर्शकसँग बसेर फिल्म हेर्ने र सफलता सेलिव्रेशन गर्नेछ। निर्देशक थापाले भने–‘हामी आजबाट काठमाण्डौ बाहिरका विभिन्न जिल्लामा पुग्दैछौ। पोखराबाट हाम्रो सफलता सेलिव्रेशन सुरु हुनेछ।’
नायिका तथा यसै फिल्मकी निर्मात्री पूजा शर्माले काठमाण्डौ बाहिर पनि फिल्मले राम्रो व्यापार गरेको भन्दै दर्शकलाई धन्यवाद दिन मोफसल दौडमा लागेको बताइन्। यो बर्षकै पहिलो सफल फिल्मको रुपमा लिइएको फिल्म ‘म यस्तो गीत गाउँछु’ हेर्न हलमा दर्शकको भीड अझै पनि लोभलाग्दो छ।