गएको बर्ष निखिल उप्रेतीलाई लिएर ‘लुटेरा’ नामक चलचित्र निर्माण गरेका निर्माता एवं वितरक गोपाल कायस्थ अहिले अर्को नयाँ चलचित्र निर्माण गर्ने तयारीमा रहेका छन् । ‘लुटेरा’ले राम्रो व्यापार गरेपछि अर्को चलचित्र निर्माण गर्न कसिएका गोपाल कायस्थले नयाँ चलचित्रका लागि भने निर्देशक फाइनल गरेका छन् । हाल स्क्रिप्टको काम चलिरहेको बताएका कायस्थले अन टाइटल प्रोजेक्टका लागि निर्देशक सविर श्रेष्ठलाई फाइनल गरेको घोषणा गरेका छन् । शुक्रबार राजधानीमा आयोजिक एक कार्यक्रममा बोल्दै कायस्थले भने -‘म लुटेरापछि अर्को चलचित्र निर्माण गर्न लागेको छु । चलचित्रको हाल स्क्रिप्टको काम चलिरहेको छ तर मैले चलचित्रको निर्देशनको जिम्मा सविर श्रेष्ठलाई दिएको छु ।’ यसअघि गोपाल कायस्थले ‘लुटेरा’ सविर श्रेष्ठले निर्देशन गर्ने बताएका थिए तर पछि सविर श्रेष्ठ रेखा थापाको चलचित्र रामप्यारी व्यस्त भएपछि गोपाल कायस्थले लुटेरा निर्देशनको जिम्मा दयाराम दाहाललाई दिएका थिए । केही दिन अगाडी मात्र ‘किङ’ नामक चलचित्रको छायाँकन सकाएका सविर श्रेष्ठ पछिल्लो समय व्यस्त निर्देशकको रुपमा चिनिन्छन् ।