मुम्बई(एजेन्सी) । बलिउडका शहंशाह अमिताभ बच्चनले फिल्मी दुनियाँमा अभिनय गर्दा धेरै रोचक र खतरापूर्ण दृश्यहरुमा पनि काम गरे । जुन कामको सम्झना अहिले पनि गरिन्छ । उनी कहिल्यै पनि चुनौतिपूर्ण काम गर्नबाट पछि हटेनन् । फिल्म ‘खून पसिना’को सुटिङका बेला अमिताभले यस्तै चुनौतिपूर्ण काम गरेका थिए । जुन हेर्दा र सुन्दा पनि दर्शकको आङ जिरिङ हुन्छ ।
अमिताभ अभिनित राकेश कुमार निर्देशित फिल्म ‘खून पसीना’ १९७७ मा रिलिज भएको थियो । यो फिल्मका लागि अमिताभले धेरै पसिना बगाएका थिए । फिल्मको एक दृश्यका लागि बीग बीले सक्कली बाघसँग लडाई गरेका थिए । यो कुरा अमिताभ आफैले फेसबुक पेजमार्फत सार्वजनिक गरेका हुन् । फेसबुकमा उनले वास्तविक बाघसँग फाइट खेल्दै गरेको तस्वीर पोष्ट गरेका छन् ।
‘एक वास्तविक बाघसँग फाइट खेल्नु क्या रमाइलो अनुभव थियो । म यो कुरा आजकालका निर्देशकसँग बाड्दा उनीहरु मलाई पागल सम्झन्छन् । आजकलका निर्देशक यस्तो स्टन्टका लागि राजी हुँदैनन् । किनकी भीएफएक्सले रियालिटीलाई विस्थापित गरिसकेको छ ।’उनले फोटोमा लेखेका छन् ।