सडकबास भएका मानिसहरुले मेहनत गर्यो भने सक्षम नागरिक भएर उसले देशको लागि केही गर्न सक्छ भन्ने विषयमा निर्माण भएको फिल्म ‘डाक्टर…खाते’ शुक्रबारबाट देशब्यापी प्रदर्शनीमा आएको छ।
अभिभावकले आफ्ना बालबालिकाको पालन पोशनमा ध्यान नदिँदा उनीहरु कसरी गलत बाटोमा लाग्छन् र गलत बाटोमा लागेका उनीहरुलाई कसरी सही बाटोमा ल्याउन सकिन्छ भन्ने सन्देश यो फिल्मले दिने निर्माता एवम् अभिनेत्री रोशनी केसीले बताईन्। केसीका अनुसार हरेक अभिभावकले यो फिल्म हेर्दा आफ्ना बालबालिकालाई आफुले कत्तिको सही गरिरहेको छु भन्ने महसुस हुनेछ। यस्तै यो फिल्म बालबालिकाले हेर्दा उनीहरुले आफु कत्तिको सही बाटोमा लागेको छु भन्ने कुरा जान्नेछन्।
यो फिल्मले मोफसलका तीन दर्जन र राजधानीका एक दर्जन गरी चार दर्जन सिनेमा हलबाट प्रदर्शन आरम्भ गरेको छ। ‘डाक्टर…खाते’लाई विभिन्न अन्तराष्टिय फिल्म फेस्टिबलमा देखाईएपछि नेपालमा प्रदर्शन गर्न लागिएको हो। सडक बालबालिकाहरुलाई समेत अभिनय गराईएको यो फिल्मबाट हरेक बर्गका दर्शकले मनोरञ्जन लिने निर्माता केसीको विश्वास छ।
फिल्ममा रोशनी केसी, शिल्पा पोखरेल, सम्राट सापकोटा, बिजय देउजा, प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत परियार लगायतको अभिनय छ। फिल्म ‘डाक्टर…खाते’मा सचिन सिंहको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, जगदिश्वर थापाको लेखन रहेको छ। फिल्मलाई रबी अर्यालले निर्देशन गरेका हुन् ।