लसएञ्जल्स(एजेन्सी) । उत्तर अमेरिकाका थिएटरमा ३ सय ९८ मिलियन अमेरिकी डलर आम्दानी गरेर हलिउड बक्स अफिसमा रेकर्ड राखेको फिल्म ‘वन्डर वुमन’को सिक्वेलको तयारीमा निर्माण पक्ष जुटेको छ । यो फिल्मको सिक्वेल बनेमा फिल्मका प्राविधिकसँगै फिल्मका प्रमुख कलाकार गाल गाडोट र क्रिस पिनलगायतका कलाकारका लागि एउटा उत्सव हुनेछ ।
फिल्म निर्माण कम्पनी वार्नर ब्रोसले फिल्मको सिक्वेलको बारेमा केही मुख नखोले पनि स्टुडियोले ‘वन्डर वुमन २’को कार्ड भने सार्वजनिक गरिसकेको छ । यो फिल्म कमिकमा आधारित हुनेछ ।
फिल्ममा अहिलेकै निर्देशक पेटी जेन्किन्सको निर्देशन हुनेछ या अरु कोही निर्देशकले काम गर्नेछन् भन्ने कुरा केही खुलेको छैन । शीतयुद्धको कथामा आधारित हुने फिल्मको अहिले धमाधम कथा बुन्ने काम भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।