मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री प्रियंका चोपडाको सफलताले बलिउडदेखि हलिउडसम्म पाइला चलिसकेको छ । अभिनेत्री हुँदै निर्मात्रीसमेत बनिसकेकी उनले अब टेलिभिजन सिरिज निर्माणमा पनि पाइला चाल्ने भएकी छन् । उनको सिरिजको कथाको पात्र हुनेछिन् अर्की सुन्दरी अभिनेत्री माधुरी दिक्षित ।
भारतीय सञ्चारमाध्यमका अनुसार एबीसी स्टुडियोले माधुरीकै जीवनीमा आधारित रहेर एउटा कमेडी टेलिभिजन शो निर्माण गर्ने तयारीमा छ । शोको कार्यकारी निर्मातामा प्रियंका र माधुरी नै हुनेछन् । सिंगल क्यामराले खिचिने यो सिरिजले बलिउडकी पूर्व स्टार माधुरीको हालसम्मको जीवनकथालाई प्रस्तुत गर्नेछ । माधुरी आफ्नो भन्दा अलग धर्म अँगाल्दै आएका अमेरिकी पुरुषसँग विवाह गरेर उतै बस्दै आएकी छन् ।
शोका लेखक श्री रावले ट्वीटरमा माधुरी र प्रियंकासँगको तस्वीर राख्दै आफुहरु शोको तयारीमा रहेको पुष्टि गरेका छन् । रावले ‘जेनेरल हस्पिटलः नाइट सिफ्ट’लगायतका धेरै शो लेखिसकेका छन् ।