काठमाडौं । सम्पूर्ण विश्वकर्मा समुदायलाई एकै ठाउँ समेटी उनीहरुको आवाजलाई राष्ट्रिय पहिचानको रुपमा स्थापित गर्न ‘मिस एण्ड मिस्टर विश्वकर्मा २०१७’ नामक प्रतियोगिता हुने भएको छ । युवापिढीबाट नै सकारात्मक समाज परिवर्तन गर्न सम्भव छ भन्ने सोचसँगै ‘परिवर्तनको लागि हाम्रो आवाज’ मुल नाराका साथ नेपालमै पहिलो पटक प्रतियोगिता आयोजना हुन लागेको हो ।
गएको वर्ष ‘मिस विश्वकर्मा २०१६’ को सफलतासँगै यसपटकदेखि ‘मिस्टर विश्वकर्मा’ पनि थपिएको छ । इभेन्ट हाउसले आयोजना गर्न लागेको प्रतियोगिताको अडिसन राउण्डमा उपत्यका एवं उपत्यका बाहिरबाट आएका ६० जना विश्वकर्मा युवायुवतीहरुबाट १५ जना युवकहरु एवम् १५ जना युवतीहरु छनौट गरिएको छ । प्रतियोगितामा विश्वकर्मा समुदाय भित्रका १ सय ६ थर लाई लक्षित गरिएको छ । भदौ पहिलो साताबाट प्रशिक्षण सुरु गरिने प्रतियोगिताको फिनाले असोज १ गते विश्वकर्मा पुजाको दिन हुनेछ ।
प्रतियोगिताको कोरियोग्राफी फेशन कोरियोग्राफर एवं सञ्चारकर्मी जयन सुब्बाले गर्नेछिन् । प्रतियोगिताका संयोजक राज बराइलीले प्रतियोगिताको मुख्य उद्देश्य राजनैतिक र जातिय विभेद भन्दा माथि यूवा हुनुपर्छ भन्ने रहेको बताए ।