गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म रुद्रको विकेण्ड कलेक्शन सार्वजनिक भएको छ । एक्सन लभ स्टोरी जनरा बोकेको फिल्मले सिङगल स्कृनमा दर्शकको मन जित्यो । फिल्म हेर्ने जति दर्शकले एक्सन स्टारको उपमा पाएका निखिल उप्रेतीको एक्शन अनि डेब्यू कलाकार सारा र विश्वको कामको तारिफ गरे ।
वितरक गोपाक कायस्थले दिएको जानकारी अनुसार फिल्मले पहिलो दुई दिनमा ९० लाख ग्रस विजनेस गरेको छ । पहिलो दिन ३७ लाखको विजनेस गरेको फिल्मले दोश्रो दिन ५३ लाखको विजनेस गर्यो । वितरक कायस्थले फिल्मको दुई दिने विजनेसबाट सन्तुष्टि व्यक्त गरे ।
शुक्रबार तथा शनिबार फिल्मप्रति दर्शकको प्रतिक्रिया बुझ्न तथा नजिकबाट साक्षात गर्न अभिनेता निखिल, विश्व, सारा सहित लिड कलाकार ज्याक श्रेष्ठ, रोयद्विप श्रेष्ठसँगै निर्माण युनिट राजधानीका विभिन्न हलमा पुगेका थिए । जहाँ दर्शकले कलाकारहरुसँग सेल्फी तथा तश्विरमा खुशी साटे । डेब्यू अभिनेत्री साराको कामलाई दर्शकले केहि बढि तारिफ दिएका छन् भने उनलाई नेपाली फिल्म उद्योगको राईजिङ स्टारको रुपमा लिईएको छ ।
अभिनेता तथा फिल्मका निर्माता समेत रहेका निखिलले फिल्मप्रति दर्शकको ‘वर्ड अफ माउथ’ राम्रो आएकोले त्यसको प्रभाव आईतबारपछिका विजनेसमा पर्ने आशा व्यक्त गरे । दर्शकको मायालाई तौलिन नमिल्ने बताउँदै निखिलले अहिलेसम्मको साथ र माया भोली पनि पाउने आशा व्यक्त गर्दै त्यसलाई थप न्याय गर्नमा आफ्नो ध्यान केन्द्रित रहने बोले । रामजी लामिछाने निर्देशित फिल्म निखिल उप्रेती प्रोडक्सन तथा विश्व प्रोडक्सनको संयुक्त व्यानरमा निर्माण भएको हो ।