मुम्बई(एजेन्सी) । यो वर्षको सबैभन्दा ठूलो फिल्मका रुपमा चिनिएको एसएस राजामौली निर्देशित फिल्म ‘बाहुबली २’ ले शनिवार बक्स अफिसमा सय दिन पुरा गरेको छ । बाहुबली फिल्मले एक किसिमले फिल्म क्षेत्रलाई प्री बाहुबली र पोस्ट बाहुबली गरी दुई तहमा बाडिदिएको सञ्चारमाध्यमले जनाएका छन् ।
फिल्म ‘बाहुबली–द कन्क्लूजन’ सन् २०१५ मा रिलिज फिल्म ‘बाहुबली–द बिगनिङ’को सिक्वेल हो । फिल्मको पहिलो संस्करण प्रदर्शनमा आएपछि नै दर्शकलाई यसको दोस्रो संस्करणबारे चासो थियो । दुई वर्षको मेहनतपछि राजामौलीले प्रभास, राणा दग्गुबती, अनुष्का शेट्टी, राम्या र नासिरलाई पुनः पर्दामा ल्याउँदा दर्शक निकै उत्साहित भएका थिए । भव्य सेट, महंगो आभूषण खतरनाक एक्सन दृश्यले पनि दर्शक मोहित बनेका थिए । ‘बाहुबली २’को अगाडि यश चोपडाको ठूलो सेट र करण जोहारको विदेशी लोकेसन फिका बने । क्षेत्रीय फिल्मबाट बाहिर आएको यो फिल्मले बलिउडका लागि एक बेञ्चमार्क सेट गरिदियो ।
यो फिल्मे भारतमा आफ्नो रिलिजकै दिन सबे भाषामा ५० करोड कमाई गरेको थियो । तीन दिनमा यसले सय करोडको आँकडा पार गरेको थियो । २० दिन भित्रमा यो फिल्मले विश्वभरमा नै १५ सय करोडको कमाई गरेको थियो । करिब ९ हजार स्क्रिनमा रिलिज यो फिल्म सबैभन्दा पहिला १ हजार करोड कमाउने पहिलो भारतीय फिल्म पनि बन्यो ।