मुम्बई(एजेन्सी) । यो हप्ता रिलिज भएको शाहरुख खान र अनुष्का शर्मा अभिनित फिल्म ‘जब ह्यारी मेट सेजल’ले समिक्षकबाट खराब समिक्षा पाएको छ। तर फिल्मको कमाईको कुरा गर्ने हो भने शाहरुखको यो फिल्मले रिलिज हुनु अघि नै मोटो कमाई गरिसकेको छ । यो फिल्मको हिरो र निर्माता स्वयं शाहरुख नै हुन् ।
समाचार अनुसार यो फिल्मको बजेट ६० करोड रुपैंयाँ हो । किंग खानले यो फिल्मबाट कुनै पारिश्रमिक लिएका छैनन् । उनले फिल्मको सुटिङ सकिनासाथ फिल्मको म्युजिक राइटस् २० करोड र सेटलाइट राइट्स ५० करोडमा बेचेका थिए । यो फिल्मको भारतमा थिएट्रिकल राइटस्का लागि पनि शाहरुखले ८० करोड लिईसकेका छन् । फिल्म रिलिज अघि नै शाहरुखले ७० करोड कमाई गरिसकेका छन् । अब ओभरसिज राइट्स र बाँकी अन्य राइटस् विक्रीपछि उनले कति कमाउने हुन् त्यो तय हुन बाँकी छन् ।
फिल्म रिलिजको पहिलो दिन थिएटरबाट यसको कमाई पनि सोचे भन्दा कम भएको छ । यो पटक पनि सलमान खानको ‘ट्युबलाइट’ जस्तै शाहरुखको फिल्म लिएका वितरकको रुवावासी शुरु भइसकेको छ । रोहित सेठ्ठीसँगको फिल्म ‘दिलवाले’ले पनि सोचे जस्तो व्यापार गर्न नसकेपछि वितरकहरुको रुवावासी नै चलेको थियो । वितरकले शाहरुख र काजोल अभिनित फिल्म ‘दिलवाले’ पनि मोटो रकममा लिएका थिए ।