मुम्बई(एजेन्सी) । बलिउड अभिनेता आमिर खान र फिल्म लेखिका उनकी पत्नी किरण रावलाई स्वाइन फ्लू भएको छ । चिकित्सकीय जाँचमा उनीहरुमा एच १ एन १ पाइएको छ । आमिर आइतबार पानी फाउण्डेसनको एक कार्यक्रममा पुणे जाने योजना बनाए पनि कार्यक्रमस्थलमा नपुगेपछि किरण र आमिरले भिडियो कन्फरेन्स मार्फत आफूहरु आउन नसकेको जानकारी दिएका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रमा जल संकट समाधानका लागि पानी फाउण्डेसनको तर्फबाट चलाइएको मुहिमको तहत वाटर कप अवार्ड वितरण आमिर पुग्नु पर्ने भए पनि स्वास्थ्य अवस्थाका कारण उनी पुग्न सकेनन् । उनीहरुले एक भिडियो सन्देश पठाउँदै एकहप्तादेखि आफूहरु स्वाइन फ्लूका कारण बाहिर कतै निस्कन नसकेको जानकारी दिएका हुन् । भिडियोमा किरणलाई खोकिरहेको प्रष्ट देख्न सकिन्थ्यो ।
यो कार्यक्रममा महाराष्ट्रको मुख्यमन्त्री देवेन्द्र फडणवीस पनि सहभागी थिए । आमिर खान समारोहमा नपुगेपछि अन्तिम समयमा शाहरुख खान आएका थिए । आमिर हालै परिवारका साथ विदेशमा विदा बनाएर भारत फर्किएका थिए । यो भन्दा अघि उनी माल्टामा फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को सुटिङ गरिरहेका थिए ।