हास्य टेलिश्रंखला ‘भद्रगोल’का दुई मुख्य कलाकार कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ ले नेपाली फिल्म निर्माण गर्ने हल्ला केहि समय पहिला देखि नै चल्दै आएको थियो। तर उनीहरुको फिल्मको लागि निर्देशक भने तय भएको थिएन। अब भने जिग्री र पाँडेले आफ्नो फिल्मको लागी निर्देशक पाइसकेका छन्। उनीहरुको फिल्मलाई अहिलेका एकदमै चर्चित निर्देशक निश्चल बस्नेतले निर्देशन गर्दै छन्।
निश्चलले ‘लुट’, ‘लुट २’ ‘टलकजंग भर्सेस टुल्के’ जस्ता फिल्म निर्देशन गरिसकेका छन्। नयाँ दिल्लिमा पुगेर फिल्म निर्माण युनिटले निश्चलसँग निर्देशनको लागि सम्झौता गरेका हुन्। आमाको उपचारको लागि नयाँ दिल्लीमा रहेका निश्चल आइतबार फिल्म निर्माण युनिटसँगै नेपाल फर्किएका छन्।
कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ र दिपक आचार्यको संयुक्त लगानीमा निर्माण हुन लागेको फिल्मको नाम दर्ता हुन् भने बाँकी छ। कात्तिक दोश्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्मको कलाकार भने फाइनल भइसकेका छैनन्। फिल्ममा सागर लम्साल ‘बले’ र हरि निरौला ‘कक्रोज’ सह निर्माताको को रुपमा रहने छन्।