मुम्बई(एजेन्सी) । पछिल्लो फिल्म ‘ट्युबलाइट’ बक्स अफिसमा असफल प्राय बनेपछि सलमान खान निकै चिन्तित बनेका छन् । उनी आगामी फिल्म ‘टाइगर जिन्दा है’को व्यापार पनि के हुने हो भनेर थप चिन्तित छन् । यसकारण उनले आफ्नै निगरानीमा फिल्म ‘टाइगर जिन्दा है’को सम्पादनको काम गर्ने निर्णय लिएका छन् ।
समाचार अनुसार निर्देशक अली अब्बास जफरले पनि सलमानको सहयोगी भावनामा कुनै आपत्ति जनाएका छैनन् । उनले यसमा खुशी व्यक्त गरेका छन् । फिल्म ‘ट्युबलाइट’ असफल भएपछि सलमान कुनै पनि मौका लिन पाएका छैनन् । फिल्ममा केहीयस्ता मुद्दा पनि थिए, जसमा सलमान निर्देशक कबिर खानसँग सहमत थिएनन् । तर उनले कबिरको फैसलामा सबै कुरा छाडिदिए ।
यसकारण पनि उनले ‘टाइगर जिन्दा है’ आफ्नै किसिमले सम्पादन गर्ने योजना बनाएका छन् । सलमान विस्तारै विस्तारै फिल्म निर्माणमा आफ्नो प्रत्यक्ष संलग्नता बढाउनेतिर चासो दिइरहेका छन् । दाजु अरबाज खानले निर्देशन गरेको फिल्म ‘दबंग २’ व्यक्तिगत रुपमा सलमानले सम्पादन गरेका थिए । उनी चाँडै फिल्म निर्देशनमा पनि हात हाल्ने योजना बनाएका छन् ।