-दिप्सन लुइटेल
कलाकारिता गरिरहेको मानिसको एउटा सोच हुन्छ, निर्देशक बनेर फिल्म निर्देशन गर्ने। कतिपय नेपाली कलाकारहरुले त्यो चाहना पुरा गरिसकेका छन् भने कोहि पुरा गर्ने तयारीमा छन्। उनीहरु आफुले लामो समय फिल्ममा अभिनय गरेको अनुभवलाई आफ्नो सर्टिफिकेट मान्दै निर्देशकीय पाईला चाल्न थाल्छन। त्यस मध्ये केहि सफल पनि भएका छन् भने केहि असफल पनि। आज हामीले कलाकारिताबाट निर्देशन तिर लागेका केहि कलाकारको चर्चा गर्दै छौ।
एक्सन किङको उपमा पाएका निखिल उप्रेती नेपाली फिल्म क्षेत्रमा राज गरिरहदा नै नायिका संचिता लुइँटेलसँग विवाह गरेर मुम्बई भासिए। करिव ५ वर्षको मुम्बई बसाई पश्चात नेपाल फर्किएका निखिलले फिल्म ‘भैरव’ निर्देशन गरे। ‘भैरव’मा निखिलकै मुख्य भूमिका रहेको थियो। निखिलको कमब्याक फिल्म मानिएको ‘भैरव’ सफल भयो। जसबाट निखिलले आफ्नो पहिलाको स्टारडम त फिर्ता पाए नै सँगै निर्देशकीय पाटोमा पनि आफुलाई अब्ब्ल साबित गरे।निखिल अहिले आफ्नो नयाँ फिल्म ‘कमिटमेन्ट : सिक्स्टी आवर्स’को निर्देशनमा व्यस्त छन्। फिल्ममा निखिलकै मुख्य भूमिका रहेको छ। ‘भैरव’ पछि लगातार फ्लप फिल्म दिइरहेका निखिलले यस फिल्मबाट आफुलाई प्रमाणित गर्नु पर्ने बेला भएको छ। निखिलको कमब्याक भएर ‘भैरव’ हिट भएको भन्नेहरुलाई फिल्म ‘कमिटमेन्ट : सिक्स्टी आवर्स’ उत्कृष्ट बनाएर गलत साबित गर्नु पर्ने र निखिलको निर्देशकीय क्षमता अब्बल छ भन्ने प्रमाणित गर्नु पर्ने चुनौती उनमा छ।
त्यस्तै नायिका रेखा थापाले पनि फिल्म ‘हिम्मतवाली’ निर्देशन गरिन्। लगभग आधा फिल्म निर्देशक श्याम भट्टराईको निर्देशनमा छायाँकन भएको ‘हिम्मतवाली’मा आन्तरिक लफडा भयो र रेखा थापाले निर्देशक भट्टराईलाई आउट गरिन्। त्यस पश्चात निर्देशकीय जिम्मा रेखा आफैले लिइन्। फिल्म ‘हिम्मतवाली’ले सफलता हासिल गर्न सकेन। स्टारडममा नम्बर १ हिरोइन साबित भएकी रेखा निर्देशनमा भने चुक्न पुगिन। उनले त्यस पश्चात कुनै पनि फिल्म निर्देशन गर्ने आट गरेकी छैनन्।
छोरा अनमोल केसी र नव-नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहलाइ मुख्य भूमिकामा लिएर नायक भुवन केसीले फिल्म ‘ड्रिम्स’ निर्देशन गरे। फिल्म व्यावसायिक रुपमा हिट भयो। तर भुवन केसीलाई त्यस फिल्ममा आरोप पनि लगाइयो। उनले फिल्मको निर्देशनमा खास मेहनत नगरेको हल्ला थियो। भुवनले फिल्ममा एशोसियट निर्देशकको रुपमा निर्देशक दिवाकर भट्टराईलाई लिएका थिए। ‘काम गर्ने कालु, मकै खाने भालु’ भने जस्तै ‘ड्रिम्स’मा भुवन केसीले निर्देशकको नाम मात्र राखेको र काम भने दिवाकर भट्टराईले गरेको भन्नेहरु पनि धेरै थिए।अब भने त्यस कुरालाई भुवनले पनि गलत साबित गर्नु पर्ने देखिन्छ। जसको लागि भुवनले एक्लै एक सफल फिल्म निर्देशन गर्नु पर्ने देखिन्छ।
गत वर्ष प्रदर्शन आएको फिल्म ‘छक्का-पन्जा’ बम्पर हिट भयो। फिल्मले नेपाली फिल्म इतिहासकै सर्वाधिक कमाई १६ करेडको व्यापार गर्यो। जसलाई कलाकार दिपाश्री निरौलाले निर्देशन गरेकी थिइन्। फिल्म हिट भएसंगै उनको चर्चा पनि उत्तिकै चल्यो। धेरैले एक सफल निर्देशकको जन्म भएको पनि भने। अहिले वितरण भैरहेका विभिन्न अवार्डहरु समेत निर्देशक निरौलाले हात परिरहेकी छिन्। तर उनलाई पनि आरोप लगईयो। आरोप त्यहि नै थियो ‘काम गर्ने कालु, मकै खाने भालु’। फिल्मको सम्पूर्ण काम फिल्मको निर्माता तथा निर्देशक दीपकराज गिरीले गरेको र नाम चाही उनको हालेको आरोप उनीमा छ। अहिले दिपाश्री फिल्म ‘छक्का-पन्जा २’को काममा व्यस्त छिन्। ‘छक्का-पन्जा २’लाई पनि दिपाश्री निरौलाले निर्देशन गरेकी हुन्। अब हेरौ पहिलो फिल्मबाट नै यत्तिको सफलता पाएकी निर्देशकलाई दोश्रो फिल्मले कत्तिको सफलता देला त?
त्यस्तै भदौ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर २’लाई नायिका झरना थापाले निर्देशन गरेकी छिन्। फिल्मको रिलिज मिति नजिकिँदै गर्दा फिल्मको चर्चा पनि चुलिन्दै गएको छ। लाग्छ फिल्म ‘ए मेरो हजुर २’ राम्रो बनेको हुनु पर्छ, किनभने फिल्मको सार्वजनिक ट्रेलर र गीत एकदमै राम्रो बनेको छ। फिल्मको ट्रेलर र गीत हेरेर दर्शकले पनि राम्रो प्रतिक्रिया दिइरहेका छन्। दर्शक फिल्म हेर्नको लागि आतुर देखिन्छन्।
कुनै समय नायिकाको रुपमा फिल्म नगरीमा एकछत्र राज गरेकी उनलाई निर्देशकीय पाटोमा कत्तिको सफलता मिल्ने हो त्यो भने फिल्म रिलिज पश्चात थाहा हुने छ। तर पनि फिल्मको चौतर्फी चर्चाले गर्दा पनि झरनालाई सफलता मिल्न सक्ने अनुमान लगाउन सकिन्छ।
कलाकार शिशिर राणाले पनि फिल्म निर्देशन गरेका छन्। उनले निर्देशन गरेको फिल्म ‘तिमि सँग’ पनि प्रदर्शनको तयारीमा छ। भदौ ८ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म उक्त मितिमा नआउने भएको छ। आन्तरिक समस्या देखाउँदै फिल्मले आफ्नो रिलिज मिति सारेको हो। कलाकारितामा शिशिर पनि रुचाइएको नाम हो।
नायक किशोर खतिवडाले पनि फिल्म निर्देशन गरेको हल्ला छ। आधिकारिक घोषणा नगरिकन छायाँकन गरिएको फिल्म ‘सुत्केरी’लाई नायक किशोर खतिवडाले निर्देशन गरेका छन्। जुन कुरा पत्रकारलाई समेत थाहा नहुन सक्छ। फिल्ममा को-को कलाकार छन् त्यो थाहा पाउन त झन गार्हो विषय भयो। कलाकारितामा पनि त्यति जम्न नसकेका किशोरले आफ्नो रहर मात्र पुरा गर्नको लागि फिल्म निर्देशन गरेको आरोप छ। त्यस्तै, नायक राजेश हमाल, नायिका केकी अधिकारी, निशा अधिकारी पनि फिल्म निर्देशन गर्ने सोचमा छन्। नेपाली फिल्म जगतमा महा-नायकको उपमा पाएका राजेश हमालले फिल्मलाई गहिरिएर बुझेको र उनीले राम्रो फिल्म निर्माण गर्ने आशा सम्पूर्ण दर्शकमा छ। नायिकाद्वय केकी र निशा पनि फिल्म निर्देशनको अझ बढी ज्ञान लिनको लागि पहिला निर्माता बन्ने र पछि निर्देशक बन्ने सोचमा छन्। निशाले फिल्म झ्यानाकुटी निर्माण गरिसकेकी छिन् भने केकी पनि फिल्म निर्माण गर्न लागेकी छिन्।