मुम्बई(एजेन्सी) । बलिउडमा एकातिर अक्षय कुमारको फिल्म ‘ट्वाइलेट एक प्रेमकथा’ले बक्स अफिसमा धमाल मच्चाइरहँदा दक्षिण भारतीय सुपरस्टार अजीत कुमारको तमिल फिल्म ‘विवेगम’ले पनि दक्षिण भारतमा जबरजस्त कमाई गरिरहेको छ । यो फिल्ममा विवेक ओबराय खलनायकको भूमिकामा छन् । यसकारण पनि विवेक अहिले निकै चर्चामा छन् ।
यो फिल्म गत २४ अगष्टमा विश्वभर एकसाथ रिलिज भएको थियो । फिल्ममा अजित र विवेकका अलावा काजल अग्रवाल र कमल हसनकी छोरी अक्षरा हसनको पनि अभिनय रहेको छ । फिल्मको निर्देशक शिवा हुन् ।
चेन्नाई बक्स अफिसमा विवेक अभिनित फिल्मले पहिलो हप्तामा रेकर्ड तोड्ने कमाईइ गरेको छ । फिल्मले शनिवारसम्म ६७ दशमलब ९२ करोडको कमाई गरेको छ । यो फिल्म चेन्नाईमा यो वर्षको पहिलो हप्तामा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ । ‘विवेगम’ यो वर्षको सबैभन्दा ठूलो ब्लकब्लष्टर फिल्म हुने सम्भावना प्रबल छ । किनकी यसको ओपनिङ डे कलेक्सन नै २५ दशमलब ८३ करोड छ ।
ओभरसिज बजारमा फिल्मले तीन दिनमा १८ करोडको सानदार कमाई गरेको छ । समाचार अनुसार फिल्मले हरेक दिन करोडको कमाई गरिरहेको छ । ब्लकबस्टर फिल्म ‘बाहुबली २’ पनि ‘विवेगम’को युद्धबाट बच्न सकेको छैन । अजीतको फिल्मले ‘बाहुबली २’को रेकर्ड पनि तोडिदिएको छ । ‘बाहुबली २’ले चेन्नाईमा तीन दिनमा ३ दशमलब २४ करोडको मात्र कमाई गरेको थियो । तर ‘विवेगम’ले ४ दशमलब २८ करोडको जबरजस्त कमाई गरेको छ ।
‘विवेगम’ तमिल फिल्मको पहिलो अन्तर्राष्ट्रिय इन्टरनेशनल स्पाइ थ्रिलर फिल्म हो । फिल्ममा अजीत इन्टेलिजेन्स अफिसरको भूमिकामा छन् ।