मुम्बई(एजेन्सी) । बलिउड देशी गर्ल प्रियंका चोपडाको भाग्य दिनानुदिन चम्किइरहेको छ । बलिउडमा एकतर्फी राज गरेपछि उनले आफ्नो पाइला हलिउडका फिल्ममा चालिसकेकी छन् । हालका दिनमा प्रियंका आफ्नो होम प्रोडक्सन पर्पल पेबल पिक्चर्सको व्यानरमा रहेर उनले धेरै क्षेत्रीय भाषाका फिल्म बनाइरहेकी छन् । पछिल्लो दिनमा उनले निर्माण गरेको मराठी फिल्म ‘भेन्टिलेटर’ले नेशनल फिल्म अवार्ड पनि पाएको थियो । उनको व्यानरले सिक्किमका नेपाली भाषीको कथामा फिल्म ‘पाहुना’ पनि बनाएको छ ।
फ्रान्सको कान्समा भएको ‘कान्स फिल्म फेस्टिबल’मा फिल्मको फष्टलुक सार्वजनिक गरिएको थियो । अहिले यो फिल्म ‘टोरन्टो फिल्म फेस्टिबल’मा देखाइने तयारी भइरहेको छ । पर्पल पेबल पिक्चर्सले आफ्नो सिक्किमे फिल्म टोरन्टो फिल्म फेस्टिबलमा छनौंट भएकोमा खुशी व्यक्त गरेको छ ।
कान्स फिल्म फेस्टिबलमा प्रियंका चोपडा र आमा मधु चोपडाले निर्माण गरेको ‘पाहुना’को फष्टलुक सार्वजनिक गरेपछि यो फिल्म आगामी सेप्टेम्बर ७ मा टोरोन्टोमा देखाइँदैछ । फिल्म ‘पाहुनाः द लिटिल विजिटर्स’ तीन साहसिक बच्चाको कथा हो । जो नेपालमा भएको माओवादी आन्दोलनबाट बचेर नेपालबाट सिक्किम जाँदा आफ्नो आमाबाबुसँग विछोडिएका हुन्छन् ।
‘फिल्मका लागि यो निम्तो पाउनु हाम्रा लागि गर्वको कुरा हो । टोरन्टो अन्तर्राष्ट्रिय फिल्म समारोहमा स्क्रिनिङका लागि यो फिल्मको चयन हुनु निश्चित रुपमा हाम्रा लागि सम्मानको कुरा हो । एक निर्माताका रुपमा मेरो जहिल्यै लक्ष्य यही हुनेछ कि राम्रो कथा र नयाँ प्रतिभालाई म मञ्च दिन सकुँ । अब पुरा विश्वलाई यो फिल्म फेस्टिबलमार्फत सिक्किमका तीन बच्चाको असाधारण परिस्थितिमा घटेको यो साहसिक कथा बताउन हामी तयार छौं ।’ प्रियंकाले भनेकी छन् ।