मुम्बई(एजेन्सी) । भारतीय सुपरहिट फिल्म ‘बाहुबली’का फ्यानका लागि एउटा खुशीको खबर छ । फिल्मका लागि बनेको एउटा योजना साकार भएमा प्रभासका फ्यानहरुले वर्षैपिच्छे बाहुबलीको सिक्वेल हेर्न पाउनेछन् । यो फिल्मको सिक्वेल बनाउनका लागि एक अमेरिकी कम्पनीले चासो देखाएपछि ‘गेम अफ थ्रोन्स’ जस्तै यो फिल्मको सिक्वेल पनि लामो हुनेछ ।
बाहुबली र बाहुबली २ ले भारत र विश्वमा नै करोडौं रुपैंयाँ कमाएको थियो । फिल्मले भारतमा एक्लै ५ सय करोड भन्दा बढी पैसा कलेक्सन गरेको थियो । अब यो फिल्मको तेस्रो सिक्वेलको यतिबेला तयारी भइरहेको छ । तर फिल्मका निर्देशक एसएस राजामौलीले तेस्रो सिक्वेल बन्ने कुराको अस्वीकार गरिदिएका छन् । तर फिल्मका लेखक र राजामौलीका पिता विजयेंद्र प्रसादले भने गेम्स अफ थ्रोन्सको जस्तै बाहुबलीलाई पनि टेलिभिजन सिरिजको रुपमा हरेक वर्ष देखाउन सकिने संकेत गरेका थिए ।
समाचार अनुसार एक मल्टी नेशनल कम्पनी बाहुबलीको निर्मातासँग नियमित सम्पर्कमा छन् । यो फिल्मको फ्रेञ्चाइजीलाई जीवित राख्नका लागि त्यो कम्पनीले निर्मातासँग नियमित संवाद गरिरहेको छ । तर टेलिभिजन सिरिजको निर्देशन भने निर्देशक राजामौलीले नगर्ने भएका छन् ।
यो फ्रेञ्चाइजीवापत बाहुबलीका निर्माता हरेक सिजनको रोयल्टी वापत २५ करोड रुपैंयाँ लिनेछन् । यो सिरिज टेलिभिजनमा आएमा राजामौलीलाई सिरिजमा ‘डायरेक्शन सुपरविजन’को क्रेडिट दिइनेछ ।