मुम्बई(एजेन्सी) । एयरलाइन्सका कर्मचारीलाई गाली गलौज गरेको भिडियो भाइरल भएपछि विवादमा तानिएका गायक उदित नारायण झा पुत्र आदित्य नारायणको विषयलाई लिएर उदितले मुख खोलेका छन् । लामो समयसम्म मौन नै रहेका उदितले छोराले धम्कीपूर्ण भाषा प्रयोग गर्दै एयरलाइन्सका कर्मचारीलाई थर्काएको झण्डै हप्ता दिनपछि उनले मुख खोलेका हुन् ।
समाचार अनुसार आदित्यले रायपुर एयरपोर्टमा आदित्यको लगेज निर्धारित तौल भन्दा धेरै देखिएपछि आदित्यले विवाद शुरु गरेका थिए । उनले कर्मचारीहरुलाई ‘ मुम्बई त पुग्न देउ तिमीहरुलाई देखाइदिनेछु’ भन्दै धम्की दिएका थिए ।
आदित्यका पिता उदितले छोराको हर्कतको बारेमा केही थाहा नभएको बताएका छन् । ‘मलाई यो घटनाबारे केही थाहा थिएन । यो विषय थाहा पाएपछि मैले पत्याउन सकिन । आदित्य यो किसिमको छैन । उ हाम्रो एक्लो छोरा हो र मेरो पत्नी र मैले उसलाई सही संस्कारमा हुर्काएका छौं । ’ उदितले भनेका छन् ।
उनले जोकोहीले पनि एयरपोर्टमा कर्मचारीसँग विवाद गरिरहे पनि आदित्यलाई नै फोकस गरेर भिडियो बनाएर भाइरल हुनु शंकास्पद रहेको बताएका छन् । उनले आदित्यले गल्ती गरेको भए आफू मुम्बई पुगेर सार्वजनिक रुपमा माफी मगाउने प्रतिवद्दता पनि व्यक्त गरेका छन् ।