अभिनेत्री रेखा थापाले आफ्नो फिल्मको प्रिमियर गरेको विरलै मात्र सुन्न पाइन्छ । रेखा फिल्मको प्रिमियर गर्न डराउने अभिनेत्री हुन् । तर, यसपटक भने रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘रुद्रप्रिया’को रेडकार्पेट प्रिमियर काठमाण्डौको कुमारी हलमा आयोजना गरियो ।
रेखाको फिल्म हेर्नका लागि फिल्म क्षेत्रका चर्चित अनुहारहरु हल पुगे । सुदिप भूपाल सिंहको निर्देशनमा बनेको यो फिल्मले नारीको पीडा र पावरको कथालाई उठान गरेको छ । रेखा यस्तै प्रकृतिका फिल्म बनाउन माहिर मानिन्छिन् ।
एमके पौडेल र सरस्वती थापाको लगानीमा निर्माण भएको फिल्ममा रेखा थापा, आर्यन सिग्देल, राजन इशानको मुख्य भूमिका छ । फिल्म हेर्न पुगेका अधिकांशले यसको सामाजिक बिषयवस्तु उठाएको भन्दै प्रशंसा गरे । नेपालमा बढ्दै गएको एसिड आक्रामणको कथालाई फिल्मले उठान गरेको छ । तर, फिल्ममा कमर्सियल भ्यालू कम भएको भन्दै धेरै फिल्मीकर्मीले प्रतिक्रिया पनि दिएका छन् । कात्तिक २ गतेबाट रिलिज हुने फिल्मको बक्स अफिस व्यापार रेखा र आर्यनका लागि महत्वपूर्ण छ ।