माघ २६ गते नेपाली फिल्म क्षेत्रमा ठूलो भिडन्त हुने देखिएको छ । यो मितिमा अभिनेत्री स्वेता खड्काले निर्माण तथा अभिनय गरेको फिल्म ‘कान्छी’ रिलिज हुने पक्का भैसकेको छ । अभिनेत्री खड्काले फिल्मको प्रचार सुरुवात गर्दै लोक लयको गीत पनि रिलिज गरिसकेकी छिन् ।
अब, यो मितिमा अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको बहुप्रतिक्षित फिल्म ‘कृ’ पनि रिलिज हुने भएको छ । फिल्मका निर्माता सुवास गिरीले बिहिबार फेसबुकमा ‘कृ’ माघ २६ गते आउने पक्का भनेर लेखेपछि भिडन्त पनि पक्का भएको हो ।
फिल्मका निर्माता सुवास गिरी र भूवन केसीले यो मितिमा आफूहरुको फिल्म रिलिज हुने पक्का भएको बताए । उनीहरुले आफूहरुको फिल्म निर्माण भएको पनि केही समय भैसकेको, बजेट पनि ठूलै लागेको कारण यो मिति बाहेक अन्य मिति आफूहरुका लागि उपयुक्त नभएको बताए ।
सुरेन्द्र पौडेलले निर्देशन गरिरहेको यो फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल लगायतका कलाकारको मुख्य भूमिका छ ।
फिल्म भिडन्त हुने भएपछि अभिनेत्री स्वेता खड्का केही चिन्तित देखिएकी छिन् । उनले, सिंगल रिलिजका लागि पहल गर्ने बताएकी छिन् । आकाश अधिकारी निर्देशित फिल्म ‘कान्छी’मा स्वेता खड्का, दयाहाङ राई, अनु शाह, भूमिका श्रेष्ठ, प्रज्वल सुजल गिरी, निर शाह लगायतका कलाकारको अभिनय छ ।