फिल्मको पर्दामा अहिलेका चर्चित अभिनेता प्रदिप खड्का र अभिनेत्री प्रियंका कार्की एकसाथ देखिए भने के होला ? के यी दुइको जोडी सुहाउला ? के यी दुइले पर्दा एकसाथ शेयर गरेको दर्शकले मन पराउलान् त ?
यस्तो प्रतिक्रिया त यी दुइले एकसाथ फिल्ममा काम गरे भने मात्र आउनेछ । हो, पाठकवृन्द, अब यी दुई कलाकार एकसाथ पर्दा शेयर गर्न तयार भएका छन् । निर्देशक मिलन चाम्स फिल्म ‘ह्याप्पी डेज’को प्रिमियरका लागि यूकेमा छन् । यो फिल्मको प्रिमियरका लागि अभिनेत्री प्रियंका कार्की पनि यूके पुगेकी छिन् ।
यो फिल्मको प्रिमियर लगतै निर्देशक चाम्सले फिल्म ‘लिलिबिली’को छायांकन सुरु गर्नेछन् । यो फिल्मको घोषणा हुँदा अभिनेता प्रदिप खड्काको साथमा दुई नयाँ अभिनेत्री रेविका गुरुङ र जसिता गुरुङले काम गर्ने पक्का थियो । तर, रेविकालाई यूकले नपत्याएपछि निर्देशक चाम्स तनावमा परेका थिए । तर, उनले अब रेविकाको ठाउँमा नयाँ अभिनेत्री पाएका छन् । उनले, अभिनेत्री प्रियंका कार्कीलाई नै रेविकाको भूमिका दिने भएका छन् । मिलनले प्रियंका फिल्ममा हुने कुरालाई नकारेका छैनन् ।
फिल्म ‘ह्याप्पी डेज’को प्रिमियर सकेपछि प्रियंकाले यो फिल्ममा काम गर्नेछिन् । फिल्म छायांकनका लागि अभिनेता प्रदिप खड्का यूके पुगिसकेका छन् ।