डिसेम्बर १ तारिखमा रिलिज हुन लागेको फिल्म ‘पद्यमावती’लाई लिएर विवाद चुलिएको छ । विवादलाई हेर्ने हो भने यो फिल्म तोकिएकै मितिमा रिलिज हुने संभवाना कम देखिएको छ ।
राजस्थान, गुजरात, महाराष्ट्र लगायतका स्थानमा आइतबार दिनभर नै विरोध भयो । गुजरातमा चुनावी सभामा पनि यो फिल्मलाई प्रतिवन्ध लगाउनुपर्ने माग गरिएको छ । गुजरातको गान्धीनगरमा १ लाख भन्दा बढी राजपुत समाजका कार्यकर्ताले फिल्मको िवरोध गरेका छन् । करणी सेनाका प्रमुखले यो फिल्म कुनै पनि हालतमा रिलिज हुन नदिने चेतावनी दिएका छन् । भाजपाका विधायक राजकुमारी दियाले पनि हस्ताक्षर सुरु गर्दै फिल्म ब्याण्ड गर्नुपर्ने माग गरेकी छिन् ।
यस्तै, महाराष्ट्रमा पनि फिल्मलाई लिएर चर्को विरोध सुरु भएको छ । फिल्म रोक्नु पर्ने माग राख्दै कैयौ मानिसहरु सडकमा उत्रिएका छन् । अखंड राजपुताना सेवा संघका १५ बढी कार्यकर्तालाई प्रहरीले पक्राउ समेत गरेको छ ।
उनीहरुले फिल्मले इतिहासलाई तोडमोड गरेर देखाएको आरोप लगाएका छन् । फिल्मका निर्देशक संजयलिला भन्सालीको घर अगाडि पनि विरोध गरिएको छ । प्रहरीले उनको घर अगाडि २४ घन्टा नै सुरक्षा दिएको छ । दीपिका पादुकोण, रणवीर सिंह, साहिद कपुरको मुख्य भूमिका रहेको फिल्मले महारानी ‘पद्यमावती’को संघर्षको कथा देखाएको छ ।