“नेपाली चलचित्रको स्वर्णकाल पुरा, आमा, कुमारी देखि शान्ति दिप् सम्म प्रदर्शन हुने !” नेपाल चलचित्र विकास वोर्डले पूराना नेपाली चलचित्रलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाईजेशन तथा रेष्टोरेशन गर्ने भएको छ । वोर्डको पुस २४ गते अध्यक्ष निकिता पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो योजनाको निर्णय गरेको हो ।
निर्णयले सबैभन्दा पहिलो नेपाली चलचित्र आमासहित १२ वटा चलचित्रलाई पहिलो चरणमा डिजिटाईजेशन गर्न लागेको हो । डिजिटाईजेशन भनेको पूराना रिल प्रविधिबाट बनेका चलचित्रहरू खुइलेर जानसक्ने भएकोले त्यसलाई नयाँ डिजिटल प्रविधिमा रूपान्तर गरी संरक्षण गर्ने विधि हो । यसबाट पूराना चलचित्रलाई आधुनिक प्रविधिमार्फत हेर्न सकिनेछ । पूराना चलचित्रहरुलाई डिजिटाईजेसनको प्रक्रियामा लैजान विकास वोर्डले यसअघि नै एउटा समिति बनाएको थियो । समितिले पूराना चलचित्रहरुलाई क्रमशः डिजिटलाईजेसन प्रक्रियामा लैजान सिफारिस गरेको छ । डिजिटाईजेशन भएपछि सबै १६ एम्. एम्. र ३५ एम्. एम्. का चलचित्रहरु अब २ के. र ४ के. फर्म्याटमा ल्याउन सकिनेछ ।
साथै नेपाली चलचित्रको गौरवमय ईतिहासलाई आम सर्वसाधारणसम्म पुर्याउन चलचित्र संग्रहालयको पनि स्थापना गर्ने प्रक्रियाको थालनी भएको वोर्डले जनाएको छ । आगामी असार १६ गते चलचित्र विकास वोर्डको वार्षिकोत्सवमा नेपाली चलचित्रको निमार्ण, उत्पादन शुरु भएको ५० वर्ष नाघेको स्वर्णकालको उपलक्ष्यमा सप्ताव्यापी रूपमा ती चलचित्रहरूलाई फिल्म फेस्टिवलको रूपमा प्रदर्शनीसमेत गर्ने तयारी वोर्डले गरेको छ । पूराना चलचित्रलाई डिजिटाईजेशन गरी एकसातासम्म प्रदर्शन गर्न लागेको अध्यक्ष निकिता पौडेलले बताइन् ।
‘हामीले नेपालमा चलचित्र निमार्ण सुरु भएको ५० वर्ष नघिसकेको स्वर्ण कालको अवसरमा प्रारम्भिक चरणमा १२ वटा अति पूराना नेपाली चलचित्रलाई डिजिटाईजेशन गरी एकसातासम्म प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ उनले भनिन् । त्यसैगरी नेपाली चलचित्रको संरक्षण र स्तरोन्नतिको लागि यो कदम स्वागतयोग्य रहेको कलाकारहरूले बताएका छन् । ‘नेपाली चलचित्रप्रेमीको लागि योभन्दा सुखद् खबर अरू के नै हुन्छ र ? यो कदम चलचित्र विकासका लागि कोशेढुङ्गा सावित हुनेछ,‘ आमा चलचित्रकी नायिका, नेपाली चलचित्रकि प्रथम नायिका भुवनचन्द थापाले बताईन् । त्यस्तै अर्का कलाकार हरिवंश आचार्यले चलचित्र विकास वोर्डका वर्तमान अध्यक्षको कार्यकाल स्वर्णिम युग बन्ने विश्वास व्यक्त गरे ।
‘वोर्डको २०५६ साल देखि को इतिहासमा हाल सम्म वोर्डले गर्न नसकेको काम वर्तमान अध्यक्ष निकिता पौडेलको कार्यकालमा हुन लागेकोमा खुशी लगेकोछ, चलचित्र विकासका लागि पौडेलको कार्यकाल स्वर्णिम युग हुने विश्वास लिएको छु, यो एकदमै राम्रो कदम हो,’ उनले भने । कलाकार बसुन्धरा भुषालले चलचित्र विकास वोर्डको यो निर्णय ऐतिहासिक कदम भएकोले सबैले सहयोग गर्नुपर्ने धारणा राखिन । उनले भनिन्, ‘चलचित्र क्षेत्रमा डिजिटाईजेशन गर्ने यो ऐतिहासिक निर्णय हो । यो कदमले पुराना चलचित्र लाई जिवित राख्छ । यस कार्यमा सबैको सहयोग अनिवार्य छ ।’ आमा सबैभन्दा पहिलो नेपाली चलचित्र हो । वि सं २०२१ सालमा छाँयाङ्कन भएको यस चलचित्र २०२२ सालमा प्रदर्शन आएको थियो । आमासँगै के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दूर, परालको आगो, कुमारी, मनको बाँध, परिवर्तन, हिजो आज भोली, बिश्व्वाश, र शान्तिदीपजस्ता चलचित्र डिजिटाईजेशन हुन लागेको हो । नेपाली चलचित्र उद्योगमा अहिलेसम लागु हुन नसकेको बक्स अफिस लागु गरेर मिडिया प्रोडक्सनमा स्नातकोत्तर गरेकी पौडेल विकास वोर्डकी अध्यक्ष भएसँगै थुप्रै सम्भावनाहरु देखिएका छन् ।
डिजिटलाइज प्रक्रियाको अवधारणा ल्याउनु, चलचित्र संग्रहालयको सोचसँगै फिल्म फेस्टिवलको आयोजनाजस्ता कामको कार्यान्वयनमा सफल हुँदै आएकी अध्यक्ष पौडेल पछिल्लोसमय चलचित्र उद्योगमा लोकप्रिय मानिन्छिन् । पौडेलको कर्यकालमा चलचित्र क्षेत्रले ठूलो फड्को मार्ने अनुमान गरिएको छ । नेपाल चलचित्र विकास वोर्ड २०५६ सालमा नेपाली चलचित्रको विकास र प्रवर्द्धनको लागि स्थापित चलचित्र उद्योगलाई नियमन गर्ने सरकारी निकाय हो ।