फिल्म ‘नाई नभन्नु ल ४’मा काम गर्दा अभिनेता पल शाह नयाँ थिए । यो फिल्म ब्रान्डकै कारण चल्यो । दोश्रो फिल्म ‘म यस्तो गीत गाउँछु’मा काम गर्दा उनीसँगै अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापा थिए । फिल्मको गीतले ज्यान भर्ने काम गर्यो । फिल्म चल्यो ।
तेश्रो फिल्म ‘जोनी जेन्टलम्यान’लाई हाक्नु पर्ने जिम्मा उनको काँधमा थियो । तर, उनले सकेनन् । फिल्म असफल भयो । पलले अभिनय गरेको चौथो फिल्म ‘शत्रु गते’ अहिले हलमा चलिरहेको छ ।
यो फिल्म रिलिज अगाडि पलले मिडियामा खुबै हाइप पाए । मिडियामा उनलाई नै खोजियो । तर, फिल्म रिलिज भएपछि भने पल कमजोर देखिएका छन् । फिल्ममा सबैभन्दा कमजोर पात्र उनी नै छन् ।
फिल्ममा हरिवंश आचार्य र दीपकराज गिरी हाबी छन् । पल शाहको करिअरमा एउटा फिल्म थपिएतापनि उनलाई भने यो फिल्मले उभो लगाउँदैन । फिल्ममा उनी कमजोर देखिएका छन् । यसैले, चौथो फिल्मसम्म आइपुग्दा पल फिल्म क्षेत्रमा शक्तिशाली भन्दा पनि कमजोर देखिएका छन् ।