फिल्म ‘सत्रु गते’ले हलमा बम्पर कमाई गरिरहेको छ । पहिलो सातामा जस्तै दोश्रो सातामा पनि दर्शकको साथ फिल्मलाई मिलिरहेको छ । फिल्म हेर्नका लागि विभिन्न क्षेत्रका मानिसहरु पनि उत्साहित देखिएका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनालले परिवारसहित फिल्म हेरिसकेका छन् ।
अब, यो फिल्म प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीले पनि हेरेका छन् । उनले काठमाण्डौको क्यूज हलमा पुगेर फिल्म हेरेका हुन् । फिल्मका भिलेन अनुराग कुँवरले फिल्मको शोको आयोजना गरेका थिए । प्रधानसेनापतिको साथमा नेपाली कांग्रेसका नेता जगदिश नरसिहं केसी, गायिका कोमल वली, कलाकार निर शाहले फिल्म हेरेका छन् ।
फिल्मले दोश्रो सातामा पनि राम्रो कमाई गरिरहेको छ । ललितपुरको गुण सिनेमा हलमा शनिबार फिल्मको १५ शो नै हाउसफूल भएको थियो । प्रदिप भट्टराइले निर्देशन गरेको यो फिल्ममा मल्टिस्टारर कलाकारको मुख्य भूमिका छ । फिल्मले पहिलो सातामा ६ करोडको व्यापार गरेको थियो ।