चैत ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कागजपत्र’को पहिलो गीत सार्वजनिक भएको छ। मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘माया संसार’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा हर्कुलस बस्नेतको शब्द, संगीत तथा स्वर छ।
भिडियोमा फिल्मका मुख्य कलाकारहरु नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा र सरिता गिरी फिचर छन्।
‘इपी एजुकेशन’ अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म ‘वल्र्डवाइड फिल्मस्’ र ‘अस सिनेमा’को संयूक्त व्यानरमा निर्माण भएको हो। यसको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन्। फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन्।
अपिल बिष्टको लेखन तथा निर्देशन रहेको फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ। फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन्।