नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले यही जेठ ३१ गतेबाट हेटौंडामा दुई दिने राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ। आज नेपाल सांस्कृतिक संघको आवाहनमा केन्द्रिय कार्यसमिति सहित काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समिति तथा बिधागत समितिहरुको सभापति सहित संघका केन्द्रिय सभापति तीर्थबहादुर थापाको सभापतित्बमा बसेको बैठकले राष्ट्रिय भेला अन्तर्गत हुने बिस्तृत कार्यक्रमका लागि रचनात्मक सुझाव संकलन र खुला टिप्पणी सहित छलफल गरेको थियो।
राष्ट्रिय भेलामा उत्साह र जाँगरका साथ सहभागी बन्न नेपाल सांस्कृतिक संघले ७७ वटै जिल्लामा रहेका आफ्ना मातहातका जिल्ला समितिहरु तथा बिधागत समितिहरुलाई कार्यक्रम सभ्य र भब्य बनाउन रचनात्मक सहभागिताका लागि सर्कुलर गरिने सभापति तीर्थबहादुर थापाले बताएका छन्। जेष्ठ ३१ गतेबाट आयोजना हुने उक्त कार्यक्रमलाई नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाले उद्घाटन गर्ने र कार्यक्रममा केन्द्रिय स्तरका नेताहरुको बाक्लो उपस्तिथि रहने बताइएको छ।हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानका क्रममा नेपाल सांस्कृतिक संघले यसै राष्ट्रिय भेला मार्फत ‘सांस्कृतिक जागरण’ अघि बढाउनेछ। जागरणका मुद्दाहरु सम्प्रेषण गर्नुका अतिरिक्त संघले सांस्कृतिक क्षेत्रका पुराना अग्रज स्रष्टाहरुको सम्मान , संरचना विस्तार, सदस्यता विस्तार, सांस्कृतिक कर्मीहरुको हित केन्द्रीत छलफल र जागरण अभियानलाई बल पुग्ने गरी सांस्कृतिक प्रस्तुति, बिचार गोष्टि,अन्तरक्रिया, स्मारिका बिमोचन,कार्यशाला ,प्रशिक्षण लगायतका गतिविधि गरिने जनाइएको छ।