अभिनेत्री नीता ढुंगाना पछिल्लो समय निकै व्यस्त छिन् । केही दिन अगाडी मात्र ‘निर्भय’ चलचित्रको छायाँकन सकाएर नीता अहिले चलचित्र ‘लेकसाइड’ को छायाँकनमा व्यस्त छिन् । ६ बर्षको हुँदा ‘चेतना’ नामक टेलिसिरियलमा काम गरेपछि अभिनिय यात्रा सुरु गरेकी नीताको पहिलो चलचित्र ‘चाँडै आउ है’ थियो । ‘चेतना’ टेलिसिरियलबाट ५ सय पारिश्रमिक लिएकी नीता अहिले २ लाखको आसपासमा पारिश्रमिक लिने गर्छिन । उनको डेव्यू फिल्म ‘चाँडै आउ है’ मा नीतालाई दीपक रायमाझीले ५० हजार पारिश्रमिक दिएका थिए ।
नयाँ पत्रिका दैनिकसँगको कुराकानीको क्रममा उनले भनिन्, ‘मलाई मेरो जीवनको पहिलो कमाइ राम्ररी याद छ । त्यतिवेला म जम्मा ६ वर्षकी थिएँ । त्यो पारिश्रमिक मैले आमालाई दिएकी थिएँ । छोरीले अभिनय गरेर पारिश्रमिक पाएकोमा आमा साह्रै खुसी हुनुभएको थियो । त्यतिवेला उहाँले मलाई ‘धेरै प्रगति गरे’ भनेर आशिर्वाद दिनुभएको थियो । छोरीको पहिलो कमाइ सधैँ याद होस् भनेर आमाले चिया पकाउने कित्ली किन्नुभएको थियो । त्यो कित्ली अहिलेसम्म पनि छ । केही पैसाले मलाई जामा किनिदिनुभएको थियो भने केही रकम मैले चक्लेट खाएर सिध्याएकी थिएँ ।’
उनले अगाडी भनिन्, ‘ठूली भएपछि भने पहिलोचोटि हिरोइनका रूपमा ‘चाँडै आउ है’ फिल्ममा अनुबन्धित भएँ । दीपक रायमाझीको निर्देशनमा बनेको सो फिल्मबाट मैले पारिश्रमिकस्वरूप पचास हजार रुपैयाँ पाएकी थिएँ । त्यतिवेला काठमाडौंमा स्थापित हुन नै गाह्रो अवस्था थियो । त्यो पारिश्रमिकमध्ये केही रकमले रुम सेटल गरेँ । केही रकम ड्रेसमा खर्च गरेँ अनि केही भने आमालाई दिएँ ।’ राष्ट्रिय चलचित्र पुरस्कार २०६८ बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड समेत पाएकी नीताले नोटबुक, फूलै फूलको मौसम तिमीलाई, हाम्रो माया जुनीजुनीलाई, मसानसँगै सयौं म्यूजिक भिडियोमा समेत काम गरिसकेकी छिन् ।